२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हल गोरु पाल्ने किसानलाई ११ लाख अनुदान

फाइल तस्बिर

तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ किसानलाई प्रोत्साहन रकम दिएको छ। पछिल्लो समय गोरु पाल्ने प्रचलन घट्दै गएपछि प्रतिहल गोरुका लागि रु चार हजारका दरले किसानलाई प्रोत्साहन रकम दिएको हो।  

किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए। उनले भने, ‘गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हल गोरु पाल्ने किसानलाई अनुदान दिएका हौं, अनुदानमा रु ११ लाख खर्च भएको छ।’ उनको भनाइअनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हल गोरु पाल्ने किसानलाई अनुदान दिने योजना छ र सोहीअनुरूप बजेट पनि छुट्याइएको छ।  

गाउँपालिकाले सातवटै वडाका किसानलाई प्रोत्साहनका लागि अनुदान दिँदै आएको छ। गोरु पाल्ने किसानलाई हरेक वर्ष नदिई एक/एक वर्षको अन्तरालमा अनुदान दिने गरिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस्तो कार्यक्रम ल्याइएको बताए।  

उनले भने, ‘प्रोत्साहन रकमले हल गोरु पाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ, गोरु पाल्ने क्रम बढेसँगै खेतबारी बाँझो राख्ने परम्परा पनि हट्दै गएको छ, कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ।’  

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि दिइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिने गरिएको बताए। यसरी अनुदान पाउने किसानका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: ३ श्रावण २०८२ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App