भरतपुर महानगरपालिका–५ की मनिषा कोइराला २४ वर्षकी भइन्। यसअघि कोइरालाले कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएकी थिइनन्। तर यसपालि उनले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउँदै ‘भोट हाल्ने अधिकार प्रयोग गर्ने’ निर्णय गरेकी छन्।
बिहीबार जिल्ला निर्वाचन कार्यालय चितवनमा आएर उनले आफ्नो नाम दर्ता गराइन्। फोटो सहित मतदाता नामावलीमा नाम लेखाएपछि उनले उत्साहका साथ भनिन्, ‘एक भोटले पनि फरक पार्छ। परिवर्तन हामी युवाबाटै सम्भव छ। देशले नयाँ दिशा खोज्दैछ।’
कोइरालाजस्तै अहिले चितवनका थुप्रै युवा मतदाता दर्ता अभियानमा सक्रिय छन्। केहीले पहिलो पटक मतदान गर्ने उमेर पुगेका छन्, भने अरु धेरैले आगामी निर्वाचनमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन चाहेका छन्। भरतपुर महानगरपालिका–१० की २२ वर्षीया अनुसा राजलवतले आफ्नो जनप्रतिनिधि सही छनोट गर्नका लागि यसपटक निर्वाचनमा माग लिने बताइन्।
‘अहिले जेनजी आन्दोलनपछि निर्वाचन हुँदैछ। मत हाल्नु सभ्य नागरिकको कर्तव्य पनि हो,’ बिहीबार जिल्ला निर्वाचन कार्यालय चितवनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा भेटिएकी राजलवतले भनिन् ‘हरेक नागरिकले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।’
अधिकांश युवा सामाजिक सञ्जाल, शैक्षिक संस्थान र जागरुकता अभियानबाट प्रेरित भएर दर्ता गर्न आएका छन्। चितवनको रत्ननगर नगरपालिका–९का १७ वर्षीय सम्पन्न अधिकारी राम्रो नेतृत्व छनोट गर्नका लागि उत्साहित भएको बताउँछन्। युवाहरूले आगामी निर्वाचनमा आफ्नो मतमार्फत देशको नीतिनिर्माणमा प्रभाव पार्ने उनले बताए। यो पुस्ताको सक्रियता देशको लोकतान्त्रिक अभ्यासलाई थप सबल बनाउने उनको भनाई छ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय कात्तिक मसान्तसम्म तोकेको छ। सरकारले ल्याएको मतदाता नामावली संशोधन अध्यादेश असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएपछि चितवनमा असोज १० गतेदेखि मतदाता नामावली संकलन गर्न सुरु गरिएको थियो।
जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयबाट सामानहरू विभिन्न दाताबाट जुटाएर मतदाता नामावली संकलनको कार्य गरिररहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए। उनका अनुसार जेनजी आन्दोलनको क्रममा चार सय ६८ वटा इलेक्ट्रिक भोटिङ मेसिन सहित २ करोड ३१ लाख १२ हजार रुपैयाँ बराबरको भौतिक संरचनामा क्षती पुगेको छ।
सिमित स्रोत साधन प्रयोग गरेर सञ्चालन गरिएको मतदाता नामावली संकलन गरिएको उनले बताए। निर्वाचन कार्यालयका अनुसार पछिल्ला दिनमा मतदाता नामावली दर्ता गर्न युवाको भीड बढ्दै गएको छ। ‘कार्यालयले दिएको तथ्यांक अनुसार ९० प्रतिशत मतदाता २५ वर्ष भन्दा कम उमेरका छन्।
कार्कीले भने, ‘नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न आउने युवाहरूको संख्या उल्लेख्य छ। २५ वर्षभन्दा माथिका अधिकांशले पहिले नै नाम दर्ता गराएका हुन्छन्। वैदेशिक रोजगारीका क्रममा छुटफुट हुनेहरू आउनुभएको छ।’ उनका अनुसार चार दिनको अवधिमा आठ सय २९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। मतदाता नामावली दर्ता गराउनेमा महिलाभन्दा पुरुष बढी छन्। पाँच सय १५ जना पुरुषले नाम दर्ता गर्दा तीन सय १४ जना महिलाले मात्र नाम दर्ता गराएका छन्।
चितवनमा प्रतिनिधि सभाको निर्वाचनपछि १३ हजार ५० मतदाता थपिएका छन्। २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा चार लाख आठ हजार ३४२ जना मतदाता थिए। बिहीबारसम्म चार लाख २१ हजार ३९२ जना पुगेको कार्कीले जानकारी दिए।
रुपन्देहीमा उपनिर्वाचन हुने भनेपछि असार १६ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकिएको थियो। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेपछि पुरानो व्यवस्थाअनुसार भदौ २८ गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो। सरकारले अध्यादेश मार्फत नयाँ मतदाता नामावली संकलन गर्ने भनेपछि खुलाइएको थियो। फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता नामावलीमा नाम भएका नागरिकले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८२ १२:३० शनिबार





