२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रवि, बालेन र रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो : योगेश भट्टराई

'पुराना दलका प्रमुख नेताहरू फेरि त्यही गल्ती दोहोर्‍याउँदै छन्'

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पुराना पार्टीको अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइएको बताएका छन्।

उनले तत्काल ठूलै सफलता पनि मिले पनि रवि लामिछाने, बालेन्द्र शाह र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नतर्फ ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको बताए।

'पुराना पार्टी ( एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनालाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो,' भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भने, 'तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको छ।'

उनले रास्वपालाई अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका संज्ञा दिए। उनले बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार कसैलाई पनि काम नलाग्ने भनाइ राखे।

उनले भने, 'अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ।'

यस्तै, उपमहासचिव भट्टराईले पुराना दलका प्रमुख नेताहरू फेरि त्यही गल्ती दोहोर्‍याउँदै गरेको बताए। रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनर्उदयको आधार ठानेर आत्मरतीमा मस्त रहेको बताए।

'विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुन:निर्माण तिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको श्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ,' उनले भने।

प्रकाशित: २९ श्रावण २०८३ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App