नेकपा ढएमाले)का सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले कुलिङ अफ पिरियडको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अचानक भूत जागेको बताएका छन्। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिन गर्नु पर्ने भनेर दाहालले अभिव्यक्ति दिएपछि प्रतिवाद गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्।
‘तपाईँ कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा विधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुन्थ्यो र तपाईँ कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन। यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो?’
उनले आफूहरू विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौँ र यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेको समेत सुनाए। ‘तपाईँले वर्तमान प्रम केपी ओलीमाथि व्यङ्ग्य गर्नु भएछ। सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको हो,’ उनले लेखेका छन्, ‘छानबिन त तपाईँमाथि नै गर्नु पर्ने हो कि? आफ्नै बोली आफैँलाई गला पासो नहोस्!’
प्रकाशित: ११ श्रावण २०८२ ०९:३४ आइतबार