७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

गोरखामा योग शिविर

बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो।

योग शिविरमा सहभागीलाई विविध योगासन, प्राणयाम, ध्यान तथा योगबारे जीवनोपयोगी जानकारीसहित योगाभ्यास गराइएको योगगुरु अशोक शर्मा भट्टले जानकारी दिए।

‘योग शारीरिक अभ्यास मात्र नभएर आत्माबोध तथा आत्माशुद्धिको समग्र कल्याणतर्फउन्मुख कार्य पनि हो, यसबाट तनाव, असन्तुलन र मानसिक अशान्तिलाई कम गर्न योगाभ्यास अत्यावश्यक छ’, उनले भने।

सोही अवसरमा सहभागीहरुलाई योगाभ्यासको मार्गदर्शन र व्यक्तिगत जीवनमा सकारात्मक सुधारका उपायबारेमा अभिमुखीकरण प्रदान गरिएको भट्टको भनाइ छ।

गोरखा गुरु गोरखनाथको तपोभूमि पनि भएको र गोरखकालीको पवित्रस्थलमा गरिने योगाभ्यासको विशेष महत्व रहेको भट्टले बताए।

शिविरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, स्थानीय नागरिक, जनप्रतिनिधिलगायतको सहभागिता रहेको जिल्ला समन्वय समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले बताए।

गोरखनाथ कल्याण केन्द्रको समन्वयमा आयोजित निःशुल्क शिविर नेपाल नेचुरल साउण्ड हिलिङ इन्टरनेसनको सहआयोजनामा सम्पन्न भएको हो।

शिविरमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर श्रेष्ठलगायतको सहभागिता थियो।

शिविरमा योग गुरु अशोक शर्मा भट्ट, प्रशिक्षक एलिस बन्जरा, मनोज दुवाडी, रुपेश श्रेष्ठ, कृष्ण शरण, अच्युत कृष्णलगायतले प्रशिक्षण प्रदान गरे।

प्रकाशित: ७ असार २०८३ २२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App