२८ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले स्वास्थ्य पत्रकारितामा स्वास्थ्य विधा निकै महत्वपूर्ण रहेको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगबाट बचाउने र सुसूचित गर्ने बताए। 

‘तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरूले गर्दै आएका छन्,’ उनले भने, ‘अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्यूजलाई रोक्नु हो। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरू बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत छन्।’ सभामुख घिमिरेले रोगबारे भन्दा रोग लाग्नबाट जोगिने विषयलाई प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनचेतनाको कमीले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताले जनचेतना जगाउनुपर्ने बताए। उनले स्वास्थ्य पत्रकारहरूले राज्य र स्वास्थ्य क्षेत्रको नेतृत्वलाई दबाब दिन सक्ने बताए। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा उपचार नपुगेको बताए। 

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य क्षेत्र सुधारमा धेरै योगदान गरेको भन्दै मञ्चले थप क्रियाशील भएर दबाब सिर्जना गर्नुपर्ने बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले पत्रकारितामार्फत निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारमा धेरै काम भएको भन्दै तथ्यमा आधारित काम गर्न शुभकामना दिए। 

विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्चसँग जनस्वास्थ्यका विषयमा छलफल र अन्तरक्रिया गर्दै आएको बताए। 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकाससँगै स्वास्थ्य पत्रकारिता उदाएको उल्लेख गर्दै डिजिटल मिडियामा आएका सबै कुरा समाचार नहुने बताए। 

मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चको १० वर्षे इतिहासका आरोह अवरोह र आफूहरूले गर्न खोजेका कामका विषयमा चर्चा गरे। सोही कार्यक्रममा मञ्चका संस्थापकलाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: ३१ श्रावण २०८२ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App