देशले आमूल परिवर्तनका नाममा पटकपटक व्यवस्था परिवर्तन गर्यो। निरंकुश राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मका शासकीय पद्धतिमार्फत शासन चले। हरेक परिवर्तनमा अतुलनीय भूमिका निभाएको दाबी गर्नेहरूले जहिल्यै समावेशिताका चर्का गफ गरे तर आम नागरिकको अवस्था भने फेरिएन। धेरै नागरिकका घरमा चुलो निभिरहँदा राज्य सञ्चालकहरू भने भौतिक विकासका तस्बिर बेचिरहेका छन्।
देशको सबैभन्दा पुरानो तर सुधारिएर आएको दाबी गर्ने कांग्रेस, आफूलाई असली दाबी गर्ने पुरानो कम्युनिस्ट पार्टी नेकपा एमाले, १० वर्ष माओवादका नाममा सशस्त्र द्वन्द्व गरेर संसदीय धारमा आएको तर माओवाद छाडेर दर्जनौं दल जोडेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अनि उभारका साथमा आफूलाई नयाँ दाबी गर्दै बौद्धिकको जमात छौं भनेर दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरूले उम्मेदवारी वितरण गर्दा देखाएको दरिद्रता उदेकलाग्दो छ। उनीहरूले कतिपय निर्वाचन क्षेत्रमा ‘प्रभावशाली’ पुरुषसँग महिलालाई प्रतिस्पर्धामा उभ्याएर संख्या मात्र देखाउन खोजेका छन्।
कुल जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेका महिलालाई दलहरूले गरेको उपेक्षाले राजनीतिक नेतृत्वको धज्जी उडाएको छ। समावेशिताको ठेक्का आफ्नो हो भनेजसरी मुखले ३३ प्रतिशत दिएजस्तो दाबी गर्ने सबै दलले अवसरका समयमा महिलालाई पछाडि पार्ने क्रम निरन्तर छ। समानुपातिकका नाममा संख्या पुर्याउन मात्र प्रयोग गरेर महिलाको क्षमतामा पर्खाल लगाइएको हो।
कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा ११ जना मात्र महिलालाई उम्मेदवार बनाएको छ । त्यसमा पनि धेरै महिलाले ‘प्रभावशाली’सँग भिड्नुपर्ने बाध्यता छ। ती ११ जनामध्ये रुकुम पूर्वमा कुसुम थापा मगरलाई पुष्पकमल दाहालसँग भिडाएको कांग्रेसले चितवन–२ मा मीना खरेललाई रवि लामिछानेसँग प्रतिस्पर्धी बनाएको छ।
कांग्रेसले झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग मन्धरा चिमरियालाई चुनावी मैदानमा उतारेको छ। झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेसँग कांगे्रस नेत्री सरिता प्रसाईंलाई चुनावी मैदानमा उतारेको छ। सिरहा–४ बाट चन्द्रकलाकुमारी यादवलाई तीन जना पूर्वमन्त्रीसँग भिडाएको छ। सबैभन्दा धेरै पटक मन्त्री बनिसकेका शरतसिंह भण्डारीविरुद्ध नेत्री किरण यादवलाई महोत्तरी–२ मा चुनावी प्रतिस्पर्धामा उतारेको छ।
त्यसो त अन्य दलमा पनि महिलाको उपस्थिति न्यून छ। १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै गर्दा एमालेले १२ जना महिलालाई मात्र चुनावी प्रतिस्पर्धामा उतारेको छ। रास्वपाले १६३ क्षेत्रमा उम्मेदवारी दिएकोमा १६ जना महिला उम्मेदवार छन् भने नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएकोमा ११ जना मात्र महिला छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा नौ क्षेत्रमा मात्र महिलालाई उम्मेदवार बनाएको छ।
सुनसरी–३ बाट नेकपा एमालेबाट भगवती चौधरी विजय गच्छदारसँग चौथो पटक भिड्दै छिन्। तनहुँ–१ मा एमालेबाट भगवती न्यौपानेलाई रास्वपाका स्वर्णिम वाग्लेसँग भिडाइएको छ। रास्वपाले झापा–२ मा इन्दिरा रानालाई पूर्वसभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धामा उतारेको छ।
राप्रपाका ज्ञानेन्द्र शाहीसँग रास्वपाले विनिता कठायतलाई जुम्लामा भिडाउँदै छ भने सोविता गौतम यतिबेला भरतपुरकी मेयर रेणु दाहालसँग प्रतिस्पर्धा गर्नेछिन्। सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा गर्न आम जनता पार्टी (आजपा) ले रिंकीकुमारी साहलाई उम्मेदवार बनाएको छ।
रौतहट–३ मा आजपाका अध्यक्ष साहसँग प्रतिस्पर्धा गर्न नेकपाले पुनम देवीलाई उम्मेदवार बनाएको छ। काठमाडौं–५ मा नेकपाले अधिवक्ता कल्पना शर्मालाई उम्मेदवार बनाएको छ। उनी कांग्रेस महामन्त्री प्रदीप पौडेल र पूर्वएमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गरिरहेकी छन्।
कञ्चनपुर–१ मा बिना मगरलाई नेकपाले फेरि उम्मेदवार बनाएको छ। उनलाई एमाले उम्मेदवार तारा लामा तामाङ र कांग्रेसका गोपीप्रसाद उपाध्यायले चुनौती दिइरहेका छन्। मनाङ–१ मा नेकपाकी यशोदा सुवेदीले कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्दै छिन्। नेकपाकी धर्मशिला चापागाईं झापा–२ मा कांग्रेसकी सरिता प्रसाईं, एमालेकी देवराज घिमिरे र रास्वपाकी इन्दिरा राना मगरसँग प्रतिस्पर्धा गर्दै छिन्।
संखुवासभामा नेकपाबाट सरिता थापा खड्काले उम्मेदवारी दर्ता गरेकी छन्। त्यहाँ कांगे्रसका दीपककुमार श्रेष्ठसँग उनको प्रतिस्पर्धा हुनेछ। त्यहाँ एमालेबाट अर्जुनकुमार कार्की मैदानमा छन्। सप्तरी–४ मा रुबीकुमारी कर्ण नेकपाबाट उम्मेदवार छिन्। यहाँ एमालेका गंगाप्रसाद चौधरी, कांग्रेसका तेजुलाल चौधरी, जसपा नेपालका बबी सिंह प्रतिस्पर्धामा छन्। रौतहट–३ मा नेकपाले पुनमदेवी यादवलाई उम्मेदवार बनाएको छ। उनी यस पटक एमालेका कुन्दनप्रसाद कुशवाहा, कांग्रेसका रामकृपालप्रसाद यादव, राप्रपाका रवीन्द्र पटेल, जसपा नेपालका गोविन्द चौधरी र जनमत पार्टीका शेख परवेज आलमसँग प्रतिस्पर्धा गर्दै छिन्।
त्यसो त बलिया भनिएका दलमा आबद्ध धेरै ‘प्रभावशाली’ महिला निर्वाचनको मैदान माहोलभन्दा बाहिर पनि छन। प्रत्यक्षतर्फ तीन हजार ८८ जना पुरूष उम्मेदवार हुँदा महिला उम्मेदवारको संख्या भने तीन सय ८८ मात्रै छ। यसमा पनि स्वतन्त्र उम्मेदवारको संख्या १५७ छ।
निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ छ र तीमध्ये महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ छ। घर चलाउने महिलाले देश चलाउन सक्छ भन्ने नारालाई कुनामा पन्छाएर समावेशिताका चर्का कुरा गर्ने राजनीतिक दलले आउँदा अवसरहरूमा महिलालाई पनि स्थान दिने वातावरण बने मात्र नयाँ नेपालको परिकल्पना साकार हुनेछ।
प्रकाशित: २७ माघ २०८२ १०:१३ मंगलबार





