जिल्ला कारागार सिरहाबाट अवैध हतियार बरामद भएपछि नाइके सहित १६ जनालाई प्रहरीले हिरासतमा लिएपछि सोमबारदेखि अशान्त कारागार अझै साम्य हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेश बहादुर पालका अनुसार कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै होहल्ला र नाराबाजी अझै पनि रोकिएको छैन।
उनका अनुसार कारागारको तनाव समाधानको विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठकबाट समाधानको उपायबारे छलफल हुनेछ।
हतियार, गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद करिब २० घण्टाभन्दा बढी समयसम्म पनि सल्टिएको छैन।
सोमबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। त्यसपछि यादवसहित १६ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
त्यसको विरोधमा कैदीहरूले कारागारको छतमाथि बसेर नाराबाजी गरेका छन्।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबरजस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन गरिएको हो।
नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाँका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ। उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको प्रशासनले जनाएको छ। १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन्।
प्रकाशित: २७ माघ २०८२ १२:१४ मंगलबार





