प्रतिनिधिसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन। प्रतिनिधिसभामा दुई तिहाइ नजिक सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसहित चैत १३ गते सरकारको नेतृत्व सम्हालिसकेको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अन्य दलले पनि संसदीय दलको नेता चयन गरिसकेका छन्। तर आन्तरिक किचलोमा फसेको कांग्रेसले भने दलको नेता अहिलेसम्म चयन गर्न नसकेको हो। प्रतिनिधिसभामा एक स्वतन्त्र सांसदसहित ६ दलको उपस्थिति छ।
निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखमा भएको कांग्रेस विशेष महाधिवेशन विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यसैकारण कांग्रेसमा आन्तरिक मतभेद छ। यही मतभेदले प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब भएको हो।
समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे संसदीय दलको नेता बन्न चाहन्छन्।
प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेस संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्य हुन्छन्। अन्य महत्वपूर्ण जिम्मेवारी र सुविधा पनि दलको नेताले पाउँछन्।
यस्तो अवस्थामा संसदीय दलको नेता आ-आफ्नो पक्षमा पार्न कांग्रेस संस्थापन र इतर दुवै पक्ष सक्रिय छन्। सहमतिमा दलको नेता चयन नभए निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा संस्थापन पक्ष छ। निर्वाचनमा जाँदा अहिलेको अंकगणित कायमै रहे संस्थापन पक्षका लागि प्रतिकूल नतिजा आउन सक्ने बुझाइमा नेताहरू छन्।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट कांग्रेसले जितेको छ। विशेष महाधिवेशनबाट चयन भएको पार्टी नेतृत्वका पक्षमा १६ तथा शेरबहादुर देउवा र शेखर कोइरालासँग निकट २२ सांसद रहेको नेताहरूको हिसाब छ। तर अघिल्लो साता देउवा र कोइराला पक्षले आयोजना गरेको कार्यक्रममा ११ सांसद मात्र सहभागी थिए।
अपवादबाहेक विगतमा संसदीय दलको नेता आन्तरिक प्रतिस्पर्धाबाट चयन गरेको कांग्रेसले २०६४ सालमा संविधानसभा निर्वाचन भएपछि लामो समयसम्म दलको नेता चयन गरेको थिएन।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला संविधानसभा सदस्यको भूमिकामा सक्रिय थिए। कार्यवाहक सभापति सुशीला कोइराला निर्वाचनमा पराजित भएका थिए।
संसदीय दलको नेता बन्ने दौडमा देउवा र रामचन्द्र पौडेल थिए। तत्कालीन माओवादी र एमाले मिलेर सरकार बनाएपछि मात्र कांग्रेसले संसदीय दलको नेता चयन गरेको थियो। त्यसबेला देउवालाई पराजित गर्दै पौडेल संसदीय दलको नेता भएका थिए।
गत फागुनमा भएको निर्वाचनमा कांग्रेसका सबैजसो पदाधिकारी र पूर्वपदाधिकारी निर्वाचनमा पराजित भएका छन्। जसले गर्दा संसदीय दलको नेता चयनलाई पार्टी नेतृत्वले प्राथमिकतामा नराखेको सांसदको गुनासो छ।
आफू नबन्ने र नहुने भएपछि प्रक्रिया नै अवरुद्ध गरेर राख्ने कांग्रेसको पुरानै रोग भएको गुनासो गर्दै एक सांसद्ले भने, ‘नेताहरूले आफू हुने भए पहिला नै दलको नेता छान्ने थिए, आफू नहुने भएपछि निर्वाचन परिणाम आएका एक महिनासम्म नेता चुन्न कुनै चासो देखाएका छैनन्, सुरसार छैन।’
प्रकाशित: २४ चैत्र २०८२ २०:२५ मंगलबार





