२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

महासचिव शंकर पोखरेलले पनि किन दिएनन् अध्यक्ष ओलीलाई साथ ?

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले यतिबेला आफ्नो आन्तरिक राजनीतिक इतिहासकै जटिल मोडमा उभिएको देखिन्छ । बाहिरबाट हेर्दा सत्ताको केन्द्रमा बलियो देखिएको एमालेभित्र अहिले नेतृत्व, कार्यशैली र पार्टी सञ्चालन शैलीलाई लिएर गम्भीर असन्तुष्टि सतहमा आएको छ । अझ अध्यक्ष ओलीका सबैभन्दा विश्वासिला मानिएका महासचिव शंकर पोखरेलले समेत अहिलेको अवस्थामा पार्टी अघि बढ्न नसक्ने स्पष्ट संकेत दिएपछि एमालेभित्रको शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ ।

शनिबार अध्यक्ष ओलीकै निवासमाा बसेको सचिवालय बैठकमा महासचिव पोखरेलले प्रत्यक्ष रूपमा ‘राजीनामा दिनुपर्छ’ भन्ने शब्द प्रयोग नगरे पनि उनले व्यक्त गरेको सन्देश भने त्यही दिशातर्फ संकेत गर्ने खालको थियो । बैठकमा सहभागी नेताहरूका अनुसार पोखरेलले ‘यसरी पार्टी जान सक्दैन’, ‘समीक्षा आवश्यक छ’ र ‘यही स्थितिमा अघि बढ्न सकिँदैन’ भन्ने आशयको धारणा राखेका थिए ।

एमाले राजनीतिलाई नजिकबाट बुझ्नेहरूका लागि यो सामान्य घटना होइन । किनभने शंकर पोखरेललाई अध्यक्ष ओलीका सबैभन्दा नजिकका रणनीतिकार र वैचारिक सहयोगीमध्ये एक मानिन्छ । पार्टीभित्र ओलीको हरेक कठिन मोडमा खुलेर साथ दिने नेताका रूपमा पोखरेलको छवि रहँदै आएको थियो । त्यसैले अहिले उनैले परिस्थिति सहज नभएको भन्दै सुधार र समीक्षा आवश्यक रहेको धारणा राख्नुको अर्थ एमालेभित्र ओलीको पकड कमजोर बन्दै गएको संकेतका रूपमा हेरिएको छ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा चार उपाध्यक्षले नेतृत्वको विकल्प खोज्नुपर्ने स्पष्ट धारणा राखिसकेका थिए । शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच सचिवले पनि पार्टी सञ्चालनप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ । यसले सचिवालयभित्र अध्यक्ष ओली क्रमशः अल्पमततर्फ धकेलिँदै गएको देखिन्छ ।

एमालेभित्र अहिलेको विवाद केवल व्यक्तिको नेतृत्वसँग मात्र जोडिएको छैन । यसको जरो पार्टी सञ्चालन शैली, निर्णय प्रक्रियामा सीमित घेरा हाबी हुनु, सरकार र पार्टीबीचको समन्वय कमजोर हुनु तथा आलोचनालाई असहिष्णु ढंगले लिने प्रवृत्तिसँग गाँसिएको देखिन्छ । पछिल्लो समय पार्टीभित्र फरक मत राख्ने नेताहरू क्रमशः किनारामा पारिँदै गएको गुनासो बढ्दै आएको थियो ।

ओली नेतृत्वले पार्टीलाई चुनावी रूपमा बलियो बनाएको तर्क उनका समर्थकहरूले गर्ने गरेका छन् । तर सत्ता र संगठन दुवै क्षेत्रमा निर्णयहरू अत्यधिक केन्द्रीकृत हुँदै जाँदा पार्टीभित्र संवाद र सामूहिक नेतृत्वको अभ्यास कमजोर बनेको आरोप पनि सँगै बढेको छ । अहिले सचिवालयमा देखिएको खुला असन्तुष्टि त्यसैको परिणाम भएको धेरै नेताहरूको बुझाइ छ ।

महासचिव पोखरेलको अभिव्यक्ति अर्को कारणले पनि महत्वपूर्ण छ । उनी केवल आलोचकको भूमिकामा उभिएका छैनन्, बरु पार्टीको वर्तमान संकटलाई व्यवस्थापन गर्न ‘समीक्षा र सुधार’ आवश्यक रहेको संकेत दिएका छन् । अर्थात् एमालेभित्र अब प्रश्न केवल नेतृत्व जोगाउने वा हटाउने मात्र होइन, पार्टीलाई कुन शैलीमा पुनर्गठन गर्ने भन्ने पनि बनेको छ ।

एमालेको राजनीतिमा ओली अझै प्रभावशाली नेता हुन् । संगठन, सरकार र जनमतको एउटा हिस्सा अझै उनको पक्षमा देखिन्छ । तर सचिवालयजस्तो निर्णायक संरचनाभित्र नै समर्थन कमजोर बन्दै जानु भनेको राजनीतिक रूपमा गम्भीर संकेत हो । अझ आफ्नै महासचिवले खुला रूपमा ‘यही अवस्थामा अघि बढ्न सकिँदैन’ भन्नु ओलीका लागि केवल असन्तुष्टि होइन, चेतावनी पनि हो ।

अबको प्रश्न एमालेभित्र सुधारको प्रक्रिया सुरु हुन्छ कि नेतृत्व र असन्तुष्ट समूहबीचको दूरी अझ बढ्छ भन्ने हो । यदि पार्टीले समयमै संवाद, समीक्षा र सामूहिक निर्णय प्रक्रियालाई पुनर्जीवित गर्न सकेन भने एमालेभित्रको अहिलेको विवाद थप गहिरिने सम्भावना देखिन्छ ।

प्रकाशित: ९ जेष्ठ २०८३ २१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App