प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उनको विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे।
‘पुष्पलाल आदर्शप्रति सधैं दृढ रहे। उनको केही सीमाहरू थिए होलान् तर विचार र काममा उनी अग्रणी थिए। उनी साँच्चैको क्रान्तिकारी व्यक्ति थिए,’ अध्यक्ष ओलीले भने, ‘जात र धर्मबाट उनी माथि थिए। आफ्नो थरमा श्रेष्ठ लेखेनन्। नेपालमा कम्युनिष्टहरूको संगठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता थिए। उनी सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति थिए। उनकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन।’
विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलालले नै कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो। उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो।
प्रकाशित: ७ श्रावण २०८२ १८:४७ बुधबार





