पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमाथि आरोप लाग्दैमा निलम्बन गर्ने व्यवस्था आफूलाई मन नपरेको बताएकी छन्। राजनीतिमा सक्रिय हुने घोषणा गरेकी भण्डारीले बिहीबार आफ्नो सम्पर्क कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।
‘कुनै व्यक्तिलाई कुनै आरोप लाग्यो, आरोप पुष्टि भएको छैन, तर उसले बोल्न पाउँदैन, निलम्बित भइहाल्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘के संसारमा यही हो न्याय?’
निर्वाचित भएर आएका प्रतिनिधिलाई निलम्बन गर्नुको साटो आदर्शअनुरूप काम गर्न दिनुपर्ने उनले बताइन्। ‘निर्वाचित भएर आएका छन् जन प्रतिनिधिहरू । हो उनीहरूले एउटा आदर्शअनुरूप काम गर्नुपर्छ। तर कसैले आरोप लगायो भन्दैमा एकैचोटी निलम्बन परिहाल्ने व्यवस्था कत्तिको लोकतान्त्रिक हो यो ?,’ भण्डारीले भनिन्।
‘जन निर्वाचित प्रतिनिधिको हकमा म के भन्न चाहन्छु भने कुनै पनि आरोप पुष्टि नहुञ्जेलसम्म त्यसरी निलम्बनमा पार्नु राम्रो होइन जस्तो लाग्छ,’ उनले भनिन् ।
तर पूर्व राष्ट्रपति भण्डारीले कुन जनप्रतिनिधिको निलम्बनमा आफ्नो चित्त दुखाइ हो भनेर प्रस्ट भनिन्। यद्यपि उनले अगाडि भनिन्, ‘अहिले पनि केही संसद्का ठुलै दलका नेताहरू निलम्बनको यात्रा भोगिरहेका छन्। जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि साँच्चै उनीहरू दोषी हुन कि होइनन्?’ आरोप त विभिन्न भए पनि उ दोषी नहुने उनले बताइन्।
प्रतिनिधिसभामा भ्रष्टाचार मुद्दामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, भ्रष्टाचार मुद्दामै कांग्रेस सांसद मोहनबहादुर बस्नेत र नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन्।
प्रकाशित: ५ भाद्र २०८२ १५:४३ बिहीबार





