६ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

जब च्याटजीपीटीले माधव नेपालबारे गलत जानकारी दियो...

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले पार्टीभित्रको तथ्यांक व्यवस्थापनमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन्।

शुक्रबार पेरिसडाँडामा आयोजित पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा उनले च्याटजीपीटी चलाउँदाको आफ्नो रोचक अनुभव सुनाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे बोलेका हुन्। 

उनले भने, ‘यो अहिले एउटा जीपीटी आएको रहेछ। मलाई त थाहा थिएन। च्याटजीपीटी चलाएको, सोधेँ म को हुँ, थाहा छ? फ्याट फ्याट फ्याट फ्याट बताउन थाल्यो। बताएको त गल्ती बताएको छ। यो गल्ती बताउने हो भनेँ ? के गल्ती भयो भनेर उसले नै सोध्यो।’

उनले थपे, ‘तिमीले मेरो दुई वटा छोरा छ भन्यौ। एउटा छोरा, एउटा छोरी भएकोमा दुइटै छोरा हो ? अनि गल्ती भयो गल्ती भयो, गल्ती भयो म करेक्सन गर्छु करेक्सन गर्छु भन्यो। भनेपछि, त्यसलाई पनि ठिकठिक तथ्यांक दियो भने, उसले ठिक विवरण राख्न सक्दछ। ठिक विश्लेषण गर्न सक्दछ।’

उनले पार्टीका सदस्यहरूको विवरण, बायोडाटा र ऐतिहासिक दस्ताबेजहरूलाई सुरक्षित र व्यवस्थित गर्न अत्याधुनिक 'डाटा सेन्टर' को आवश्यकता रहेको औँल्याए। उनले थपे, ‘त्यसो हुनाले सबै विवरणहरू पार्टीको आर्काइभमा राख्नका लागि, पार्टीको यो डाटा सेन्टरमा राख्नका लागि यो आवश्यक पनि छ।’

पार्टीका हरेक सदस्यको विवरण फर्ममार्फत संकलन गर्नुपर्ने बताउँदै उनले यसका लागि प्रविधिमा पोख्त र पार्टीप्रति प्रतिबद्ध जनशक्तिको खोजी गर्नुपर्नेमा जोड दिए। साथै, आइसिटी (इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) को अवधारणा बुझ्न र यसको अधिकतम फाइदा लिन पार्टी सदस्यहरूलाई उचित प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ। पार्टीको सूचना प्रणालीलाई चुस्त बनाउन प्रविधिको प्रयोगमा सक्रिय हुनुपर्नेमा उनको जोड छ।

प्रकाशित: ६ असार २०८३ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App