राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले भविष्यमा कस्तो नेपाल प्रहरी बनाउने भन्ने विषयमा बहस आवश्यक रहेको बताएका छन्। उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै हतियार नबोक्ने प्रहरी चाहिने कि प्रभावकारी रेन्ज भएका हतियारसहितको प्रहरी आवश्यक भन्नेबारे स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्।
ढकालले आगामी दिनमा सरकारमाथि आक्रमणका प्रयास दोहोरिन सक्ने भन्दै त्यस्तो अवस्थामा सरकारले आन्दोलनकारी माथि गोली चलाउने वा नचलाउने विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएका छन्।
उनले भने, ‘एउटा प्रश्नमा म अनुत्तरित छु। भोलि बालेन प्रधानमन्त्री भए, गगन प्रधानमन्त्री भए वा अरू कोही प्रधानमन्त्री भए र प्रदर्शनकारीले संसद भवनको पर्खाल फोड्न, जलाउन थाले भने सरकारले के गर्छ? प्रहरीले गोली चलाउँछ कि चलाउँदैन? प्रहरीले हतियार कुन अवस्थामा प्रयोग गर्छ?’
उनले संसद भवन जलाउन वा तोडफोड गर्न भविष्यमा फेरि कसैले प्रयास गरे प्रहरीलाई गोली चलाउने अधिकार हुने कि नहुने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। ‘दोष सबै प्रहरीमाथि थुपारेर मात्र समस्या समाधान हुँदैन। हामी कस्तो देश बनाउन खोजिरहेका छौँ भन्ने विषयमा स्पष्टता आवश्यक छ,’ उनले लेखेका छन्।
प्रकाशित: १६ फाल्गुन २०८२ ११:३६ शनिबार





