सार्वजनिक रूपमै अब नबोल्ने, चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार समालेको ७५ दिन पूरा भयो। यस अवधिमा उनले नेपालस्थित विभिन्न चार देशका राजदूतसँग भेट गरेका छन भने पाँच वटा कानुनको मस्यौदा तयार पारेका छन्। यसैगरी उनले मन्त्रालयको दरबन्दी संरचना (ओएनएम सर्भे) को काम पूरा गरेका छन्।
सरकारले पुनले समालिरहेको मन्त्रालयका लागि चालु आर्थिक वर्ष २०८३/८४ का लागि करिब चार अर्ब रकम छुट्याएको छ। पुनले पदभार ग्रहण गर्नेबित्तिकै उनले सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफू तीन वर्षसम्म मात्र काम गर्ने घोषणा गरेका थिए।
बालेन्द्र शाह प्रधानमन्त्री भएको करिब डेढ महिनापछि सरकारले संघीय मन्त्रालय संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको थियो। गत वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३’ स्वीकृत गरेको थियो। जसअनुसार विज्ञान, प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधिसम्बन्धी कार्यक्षेत्रलाई अलग गरी ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरिएको थियो। छुट्टै मन्त्रालय गठन भएको २६ दिनपछि उनी त्यहाँ मन्त्री नियुक्त भएका थिए। त्यसबेलासम्म उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै लिएका थिए।
पुन मन्त्रीमा नियुक्त भएपछि उक्त मन्त्रालय सिंहदरबार परिसरभित्र साबिकको युवा तथा खेलकुद मन्त्रालय रहेको भवनमा सरेको छ। मन्त्री पुनले आफ्नो निवास पनि यही भवनमा बनाएका छन्। अर्थात् मन्त्रालयमै उनको आवास र भोजन व्यवस्था छ। मन्त्री पुनले पुनले दिनरात काम गर्न आफूले मन्त्रालयमै निवास बनाएको बताउने गरेका छन्।
कार्यभार समालेपछि उनले सञ्चारकर्मीसँग मन्त्री पुनले सरकारको कामको गति अघि बढाउने बताएका थिए। त्यसैले यस अवधिमा मन्त्री पुनले के के काम गरे भन्ने सबैको चासो हुने गरेको छ। ‘छोटो अवधिमा हामीले धेरै काम गरेका छौं। सबैभन्दा पहिले मन्त्रालयको स्थापना गर्यौं। कानुन बनेको थिएन। पाँच वटा कानुनको मस्यौदा तयार गर्यौं। ओएनएम सर्भे गर्यौं,’ उक्त मन्त्रालयकी सहसचिव मोनिका झाले भनिन्, ‘देखिने गरी काम गरेको भन्दा पनि नदेखिने गरी धेरै काम भएका छन्।’
मन्त्रालय चलाउन २२ कर्मचारी
मन्त्रालयकी सहसचिव झाका अनुसार हाल २२ कर्मचारीले मात्र उक्त मन्त्रालय चलाएका छन्। यद्यपि उक्त मन्त्रालयमा कर्मचारी दरबन्द िसंख्या ९० छ। हाल उक्त मन्त्रालयमा सचिव दीनानाथ मिश्र तथा मन्त्री पुनको स्वकीय सचिवमा सञ्जय पौडेल नियुक्त भएका छन्। सचिवसरह एक विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था कार्यविधिमा भए पनि पुनले उक्त पदमा कसैलाई नियुक्त गरेका छैनन्। उक्त मन्त्रालयको प्रवक्तामा शैलेशकुमार झा तथा सूचना अधिकारीमा अमित आचार्य नियुक्त भएका छन्।
सरकारले छुट्याएको चार अर्ब विज्ञान प्रविधि ऐन, नियमावली, कार्यविधि तथा मापदण्ड बन्न नसक्दा उक्त रुपैयाँ अझै खर्च हुन नसकेको मन्त्रालयकी सहसचिव झाले जानकारी दिइन्। हाल ऐन, कार्यविधि, मापदण्ड तथा नियमावली बनाउने काम भइरहेको उनले बताइन्।
हाल उक्त मन्त्रालयमातहतमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), विधि विज्ञान प्रयोगशाला तथा बिपी कोइराला वेदशाला छन्। मन्त्रालयले आफ्नो मातहतमा अब जल तथा मौसम विज्ञान विभागबाट मौसम विभाग, गुणस्तर तथा नापतौल विभागबाट नापतौल विभाग, भूमापन केन्द्र तथा खाद्य गुणस्तर परीक्षण गर्न प्रयोगशालासम्बन्धी कार्यालय राख्न गृहकार्य गरिरहेको छ।
झाका अनुसार मन्त्रालयले हाल पाँच वटा ऐनको मस्यौदा तयार गरेको छ। विज्ञान प्रविधि तथा नव प्रवर्तन ऐन, नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान पुनसंरचना गर्न ऐन, रासायनिक पदार्थ ऐन, वेदशाला ऐन तथा साइन्स तथा टेक्नोलोजी तथा अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने उद्देश्यबाट साइन्स तथा टेक्नोलोजी ऐनका मस्यौदा तयार भएका छन्। यसैगरी उक्त मन्त्रालयले विश्वविद्यालयमा स्थापना गरिएका अध्ययन–अनुसन्धान केन्द्रलाई सक्रिय बनाउने तयारी गरिरहेको छ।
चार राजदूतसँग मन्त्रीको भेट
मन्त्रालयको कार्यभार समालेयता मन्त्री पुनले नेपालस्थित विभिन्न चार देशका राजदूतसँग भेट गरेका छन्। उक्त भेटघाटको फोटो मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। गत असार २९ गते इजरायलका राजदूत स्मुली आरिया बास, साउन ५ गत कोरियाका राजदुत पार्क टी योङ, असार १० गते चीनका राजदूत सी चाङ माओमिङ तथा असार २१ गते जर्मनका राजदूत उडो इगुन भोल्जसँग मन्त्री पुनले भेटवार्ता गरेका थिए।
प्रकाशित: ८ भाद्र २०८३ ०८:५८ सोमबार





