८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

नेपाली स्याउ रोज्न र विदेशी स्याउको आयात रोक्न ज्ञानेन्द्र शाहीको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आएको समयमा विदेशी स्याउको आयात रोक्न सरकारसँग अपिल गरेका छन्।

शाहीले प्रधानमन्त्री तथा कृषि मन्त्रीलाई लक्षित गर्दै नेपाली किसानको मेहनतको सम्मान गर्न र स्वदेशी स्याउलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। उनले विशेषगरी जुम्लालगायत हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउ नेपाली उपभोक्ताले रोज्नुपर्ने बताएका छन्।

'माननीय प्रधानमन्त्रीज्यू तथा कृषि मन्त्रीज्यूलाई अपिल नेपाली स्याउ बजारमा आएको बेला विदेशी स्याउको आयात रोकिदिनुहोस्,' उनले भनेका छन्।

उनका अनुसार नेपाली स्याउको प्रवर्द्धन गर्ने अभियानले करिब ६ अर्ब रुपैयाँ नेपालमै राख्न सहयोग गर्नेछ। उनले सम्पूर्ण नेपालीलाई स्वदेशी स्याउ उपभोग गर्ने अभियानमा साथ दिनसमेत आग्रह गरेका छन्।

उनले भने, 'जुम्ला लगायत हिमाली जिल्लाका किसानको मेहनतको सम्मान गर्दै नेपाली स्याउ रोजौँ। यस अभियानले करिब करिब ६ अर्ब  रुपैयाँ नेपालमै राख्न सहयोग गर्नेछ। सम्पूर्ण नेपालीलाई यो अभियानमा साथ दिन हार्दिक अपिल।'

शाहीले किसानहरूले उत्पादन गरेको स्याउ बजारसम्म पुर्‍याउने क्रममा कुनै अवरोध नहोस् भनेर प्रहरी प्रमुख तथा प्रदेश प्रमुखसँग आवश्यक समन्वय गरिसकेको दाबी गरेका छन्।

उनले किसानहरूलाई ढुक्क भएर स्याउ बजारमा ल्याउन आग्रह गर्दै बाटोमा कुनै समस्या वा अप्ठ्यारो परे आफूलाई सिधै सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।

'आदरणीय किसान दाजुभाइहरू, तपाईंहरूको स्याउ बाटोमा कतै रोकिँदैन। हामीले प्रहरी प्रमुख तथा प्रदेश प्रमुखसँग आवश्यक समन्वय गरिसकेका छौँ। कुनै ठाउँमा समस्या वा अप्ठ्यारो परेमा मलाई सिधै सम्पर्क गर्नुहोस्,' उनले लेखेका छन्।

प्रकाशित: ८ भाद्र २०८३ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App