आफ्नो संगठनलाई बलियो बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले मंगलबारदेखि ‘जरा अभियान’ सुरु गरेको छ। योसँगै पार्टीको १५औं महाधिवेशनको प्रक्रिया पनि औपचारिक रूपमा सुरु भएको कांग्रेसले जनाएको छ।
नयाँ वर्षको सुरुवातसँगै पार्टी सभापति गगन थापाले काठमाडौं महानगरपालिका वडा नं. ३० मा क्रियाशील सदस्यता अद्यावधिक गर्दै अभियानको सुरुवात गरेका हुन्। यो कार्यक्रम वैशाख मसान्तसम्म जारी रहने कांग्रेसले जनाएको छ।
पार्टीले देशभरका ७७ वटै जिल्लादेखि वडा तहसम्म संगठनलाई सक्रिय बनाउने उद्देश्यले अभियान विस्तार गरेको हो। एक महिनासम्म चल्ने अभियानअन्तर्गत ६ हजार ७४३ वडामा विभिन्न कार्यक्रम आयोजना गरिनेछ, जहाँ केन्द्रीय प्रतिनिधिले स्थानीय तहसँग समन्वय गर्दै गतिविधि सञ्चालन गर्नेछन्। क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार, अभियानको मुख्य लक्ष्य सदस्यता अद्यावधिक गर्नु, संगठनको अवस्था मूल्यांकन गर्नु, जनतासँग प्रत्यक्ष संवाद बढाउनु र सामाजिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नु हो। साथै स्थानीय सरकारको कामकाज र आगामी बजेट निर्माणमा समेत सहजीकरण गरिनेछ।
यसपटक सदस्यता नवीकरण प्रक्रिया थप कडाइका साथ लागू गरिएको छ। प्रत्येक सदस्यले आफ्नै वडामा उपस्थित भएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ। अद्यावधिक गरेका सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गरिनेछ, जसको आधारमा मात्रै उनीहरूले आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन र मतदान गर्न पाउनेछन्।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले कोशीदेखि सुदूरपश्चिमसम्मका सबै प्रदेशमा प्रतिनिधि खटाइसकिएको र अभियान कार्यान्वयन सुरु भइसकेको जानकारी दिएका छन्।
प्रकाशित: १ वैशाख २०८३ १४:४० मंगलबार





-600x400-wm.jpg)