राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाई छ ।
उनले भने,‘चुनावमा जाँदैगर्दा मतदातालाई भनेको थियौं–हामी केवल मत माग्न आएको छैनौं, साउथ एसियाको बेष्ट प्रतिनिधि सभाको कल्पना गरेर चुनावमा होमिएको छौं भनेर भनेका थियौं । आज सदनमा सबै सहकर्मी वा सहयात्री र ,प्रतिनिधिसभा सदस्यहरुज्यूहरुलाई हेर्दा लाग्छ दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन थियो त्यो पूरा भएको छ । अब अभ्यासको ,संस्कृति र सिद्धान्तको पालो आएको छ ।’
त्यस्तै उनले यो भन्दा अगाडि सदन धेरैचोटी खुमलटार, बालुवाटार ,बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसेको स्मरण गरे । अब सदन सिद्धान्तको हुनेगरी प्रस्तुत गर्ने पालो आएको उनको भनाई छ ।
सांसद झाले सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा दम्भ देखाउने भन्दापनि उदारता, संस्कार र सिद्धान्त देखाउनुपर्ने तर्क राखे । उनले सत्ता पक्षले दम्भ देखाउँदा के हुन्छ भन्ने प्रश्न गर्दै भदौ २३ र २४ को घटना त्यही दम्भले निम्त्याएकाले सचेत हुनुपर्ने सुझाए ।
प्रकाशित: २३ चैत्र २०८२ १३:४८ सोमबार





