नेकपा एमालेले विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने प्रतिवद्धता जनाएको छ ।
सोमबारको सर्वदलीय बैठकमा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सांसद गुरु बरालले विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद नगर्ने बताए । उनले भने, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा हामी लाग्छौं । जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ । हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं ।’
सांसद बरालले संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने बताए । यस्तो नभए सरकारको प्रतिवाद गर्ने बरालले चेतावनी दिए ।
प्रकाशित: २३ चैत्र २०८२ १३:४२ सोमबार





