उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र अन्य नयाँ दलहरूसँग एकताका लागि गृहकार्य भइरहेको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले वैकल्पिक शक्ति निर्माणका लागि विभिन्न समूहसँग चरणबद्ध संवाद भइरहेको जानकारी दिएका हुन्।
यसका साथै, आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले धेरै ठाउँमा जित हासिल गर्ने घिसिङको दाबी छ।
यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि उनले ठुलो संख्यामा सिट जित्ने घोषणा गरेका थिए। तर, सो निर्वाचनमा उनी स्वयं काठमाडौं- ३ बाट पराजित भए। उनको पार्टीले एउटै सिट जित्न सकेन।
सुकुम्बासी समस्याको सन्दर्भमा घिसिङले हचुवाका भरमा बस्ती भत्काउनुको साटो योजनाबद्ध समाधान खोज्नुपर्ने बताए।
‘बस्तीहरू भत्काउँदैमा समस्या समाधान हुँदैन, यसका लागि सरकारले दीर्घकालीन र व्यवस्थित योजना ल्याउनुपर्छ,’ उनले भने, ‘सुकुम्बासीको नाममा राजनीतिक गर्ने र भोट बैंक बनाउने प्रवृत्ति अन्त्य गरी वास्तविक सुकुम्बासीको पहिचान हुनुपर्छ।’
उनले सार्वजनिक जग्गामा रहेका मन्दिर, गुम्बा र चर्चजस्ता संरचनाहरूको व्यवस्थापनमा पनि सरकारले मानवीय संवेनदशीलता र कानुनी पक्षलाई ध्यान दिनुपर्ने उल्लेख गरे। आवासको अधिकार संविधानले सुनिश्चित गरेको भन्दै उनले नागरिकलाई घरबारविहीन बनाउन नहुने तर्क गरे।
नेपाल-भारत सीमा विवाद र लिपुलेकका सम्बन्धमा घिसिङले राष्ट्रियताको पक्षमा अडिग रहनुपर्ने धारणा राखे। उनले भने, ‘नेपालको संविधानभित्र हाम्रो जुन किसिमको नक्सा र अधिकार छ, त्यसलाई सबै नेपालीले सम्मान गर्दै अगाडि बढ्नुपर्छ।’
प्रकाशित: २२ वैशाख २०८३ १७:०३ मंगलबार




-600x400.jpg)