विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका माध्यमबाट युवाहरूलाई स्वदेशमै क्रियाशील गराई विदेशिने क्रम रोक्न सरकार लागिपरेको बताएका छन्।
उनले विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्रतिभाहरूलाई खोजी-खोजी स्वदेश फर्काउने तयारी भइरहेको समेत जानकारी दिए।
राष्ट्रियसभाको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि विज्ञान प्रविधिको छुट्टै मन्त्रालय स्थापना भएको र यस क्षेत्रमा बजेट थपिन थालेको बताए।
मन्त्रालयका लागि सरकारले पुँजीगत खर्चको एक प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए। बजेट प्रस्तुत हुँदाका बखत मन्त्री नियुक्ति भइनसकेकाले कुल बजेटमध्ये ३ अर्ब ४० करोड रुपैयाँ भने हाल ‘अवण्डा’ मा राखिएको मन्त्री पुनले स्पष्ट पारे।
आफूले विगतमा मुलुकमा आविष्कार केन्द्र खोल्न गरेको सङ्घर्षको स्मरण गर्दै उनले विगतका सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्त्व दिएका कारण आफू राजनीतिमा आउनुपरेको स्पष्ट पारे। मन्त्री पुनले प्रदेश र स्थानीय तहहरूलाई समेत आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गरे।
हाल मन्त्रालय नियम-कानुनको तर्जुमा तथा सङ्गठन र व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको तयारीमा जुटेको मन्त्री पुनले जानकारी दिए।
उनका अनुसार छिट्टै युवा वैज्ञानिकहरूबाट अनुसन्धानका लागि प्रस्ताव माग गरिनेछ। हाल संसद्मा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को बजेट समेत बढाइने उनले बताए।
नेपालमा हालसम्म जम्मा ९० वटा मात्र ‘प्याटेन्ट राइट्स’ दर्ता भएको अवस्थालाई औंल्याउँदै मन्त्री पुनले यसमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरे।
‘विकसित देशहरूले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गरेकाले नै समृद्धि हासिल गरेका हुन्,’ मन्त्री पुनले भने, ‘देशको विकासका लागि यस क्षेत्रमा बजेट बढाउनै पर्छ र यसमा हुने खर्चलाई लगानीका रूपमा बुझ्नुपर्छ। यसका लागि हामी आवश्यक काम गरिरहेका छौं।’
प्रकाशित: २२ असार २०८३ १६:०७ सोमबार




