१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमालेकै नेतृत्वमा सरकार रहेका बेला गत भदौ २३ र २४ गते घटना हुँदा पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको बताए।

उनले भने, ‘उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण थियो। सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको छ।’

यस्तै, उनले प्रत्यक्ष निर्वाचनमा पार्टी नौ सिटमा सीमित हुनु कल्पनाभन्दा बाहिरको विषय रहेको बताए।

यस्तो परिणामपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न एमालेको जीवनमा गम्भीर रूपमा उत्पन्न भएको बताए।

‘हामी नयाँ ढंगले अगाडि बढ्ने प्रयत्न गरेका छौँ। त्यो प्रयत्न आजका चुनौती सामना गर्न पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरा कार्यान्वयन गर्दै समीक्षा गरेर अगाडि बढ्छौँ,’ उनले भने।

उनले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्नु आजको आवश्यकता रहेको बताए।

पार्टीलाई तीनै पक्षबाट एकताबद्ध बनाएर मात्रै वर्तमान चुनौती सामना गर्न सकिने एमालेको मान्यता रहेको उनको भनाइ छ।

विगतमा पार्टीले प्रस्तुत गरेका सपना र प्रतिबद्धतालाई विश्वास गरेकै कारण जनताबाट ठूलो जनमत प्राप्त भएको उनले बताए।

पोखरेलले पार्टीको वर्तमान संकटबाट बाहिर निस्कन वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र एकता आवश्यक रहेको बताउँदै अब नयाँ ढंगले अघि बढ्ने बताए।

प्रकाशित: १८ कार्तिक २०८३ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App