१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
अर्थ

पुस २ गतेदेखि विराट एक्स्पो हुने

विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।

उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा  पुस २ देखि ११ सम्म एक्स्पो आयोजना हुने जनाएको हो।

एक्स्पोमा २ सय ७५ भन्दा बढी स्टल रहने संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए। उनका अनुसार यसपटकको एक्स्पो विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको छ।

एक्सपोको मूल नारा ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ राखिएको छ। उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले सुरु भएको विराट एक्स्पो यस पटक उद्योगी, व्यवसायी, युवा, विद्यार्थी, लगानीकर्ता तथा उद्यमीलाई अवसरसँग जोड्ने व्यावसायिक प्लेटफर्मका रूपमा विकास गर्न खोजिएको अध्यक्ष राठीले बताए।

यस वर्ष एक्स्पोमा १० वटा अवसर क्षेत्र र छ वटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिनेछन्। विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोड्ने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुनेछ।

यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष कार्यक्रम रहनेछन्।

त्यसैगरी, एक्सपोमा विभिन्न क्षेत्रका उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल्स, खाद्य तथा मनोरञ्जनात्मक गतिविधि समेटेर व्यावसायिक प्रदर्शनी गरिनेछ। हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।

आयोजकका अनुसार यस वर्ष एक्स्पोमा करिब १ सय ५० औद्योगिक तथा कर्पोरेट स्टल, १५ प्रायोजकका लागि विशेष बुथ, ५० कृषि तथा साना उद्यमका स्टल, २० अटोमोबाइल स्टल, १२ खाद्य स्टल, १० बिजनेस डेभलपमेन्ट सर्भिसेज स्टल, १० तालिम प्रदायकका स्टल र १० साना तथा वृद्धि उन्मुख उद्यमका स्टल रहनेछन्।

यसका अतिरिक्त बाल उद्यम, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ। कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादनसमेत एक्सपोमा विशेष रूपमा प्रस्तुत गरिनेछन्। आयोजकले यस वर्षको एक्स्पोमा करिब दुई लाख ५० हजार अवलोकनकर्ता, ३ सय भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता, २५ हजार विद्यार्थीको उपस्थिति र १ हजार ५ सयभन्दा बढी व्यावसायिक म्याचमेकिङ सहभागि हुने जनाइएको छ।

त्यस्तै, करिब दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्यसमेत राखिएको एक्स्पोका संयोजक विपिन कावराले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०८३ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App