२४ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

रुख चिह्न, चारतारे झन्डा हामी पाउँछौँ: देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको ‘आधा जित’ भइसकेको दाबी गरेका छन् ।

भक्तपुरमा आयोजित ११३औँ बीपी जयन्तीका अवसरमा ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।

निर्वाचन आयोगको निर्णयविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यसपछि पुनरावलोकनका लागि निस्सा प्राप्त भएको उल्लेख गर्दै उनले यसलाई पार्टीको आधिकारिकता प्राप्त गर्ने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘चुनाव भइसक्यो, के गर्ने भनेर भन्यो । हामीले पुनरावलोकनमा गयौँ । पुनरावलोकनले हामीलाई निस्सा दियो । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने ।

देउवाले कांग्रेस नेता गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिरसमेत गरे । पार्टीको आधिकारिकता रोक्न विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्दै उनले त्यसलाई आफूहरूले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।

‘अहिले पनि जसरी हुन्छ, कसलाई भनेर हुन्छ, के गरेर हुन्छ, पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर हामी कुनै हालतमा मान्दैनौँ,’ उनले भने ।

देउवाले नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले नै पाउने दाबी गर्दै पार्टीको रुख चिह्न र चारतारे झन्डासमेत आफूहरूसँगै रहने बताए ।

‘रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ देउवाले भने ।

प्रकाशित: २४ भाद्र २०८३ १८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App