४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

गलत गरेको पुष्टि भए कारबाही भोग्छौं, गंगा दाहाल भन्छिन्: अफवाह फैलाउने काम बन्द होस्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लाग्ने आरोपको कानुनी छानबिन गर्न सरकारलाई चुनौती दिएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले राज्यका जुनसुकै निकायले गर्ने कानुनी अनुसन्धानमा आफू र आफ्नो परिवार सहयोग गर्न तयार रहेको बताएकी हुन्। तर, प्रमाणबिनै पटक–पटक परिवारलाई लक्षित गरी अफवाह फैलाउने कामप्रति उनले आपत्ति जनाएकी छन्।

‘संविधान र कानुनबमोजिम जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौं,’ उनले लेखेकी छन्, ‘तर फेरि पनि बेला–बेलामा यस्ता अफवाह किन फैलाइन्छन् ? कुन उद्देश्यका साथ फैलाइन्छन् ?’

दाहालले आफूहरूले राज्यलाई सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै आर्थिक अनियमितता वा पदको दुरुपयोग गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएकी छन्।

उनले आफूहरूले अहिलेसम्म कुनै आर्थिक गलत गतिविधि नगरेको र आगामी दिनमा पनि नगर्ने दाबी गरेकी छन्। ‘गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं, तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन,’ उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

आयोगले अघि बढायो ओली, देउवा र दाहालका स्वकीयमाथि छानबिन

दाहालले आफूहरू राजनीतिक संघर्षका क्रममा मृत्युको मुखबाट बाँचेर आएको उल्लेख गर्दै जनतालाई धोका दिनु आफ्नो राजनीतिक संस्कार नभएको दाबी गरेकी छन्।

उनले आफ्ना बुवा प्रचण्डलाई छोरीको नाताले सहयोग गर्नु नै अपराध मान्ने हो कि भन्दै प्रश्नसमेत गरेकी छन्। व्यक्तिगत जीवनसमेत त्यागेर राजनीतिक यात्रामा सहयोग गरेको विषयलाई लिएर प्रश्न उठाइएकोप्रति उनले असन्तुष्टि जनाएकी हुन्।

दाहालले आफू र परिवारमाथि लागेका आरोपलाई अस्वीकार गर्दै सरकारले आवश्यक ठाने जुनसुकै अनुसन्धान गर्न सक्ने दोहोर्‍याएकी छन्। साथै, प्रमाणबिनाका आरोप र अफवाह फैलाउने प्रवृत्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रकाशित: ४ भाद्र २०८३ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App