१० श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

'हामी सत्तामुखी भयौँ, जनतामुखी हुन सकेनौँ'

एमाले सुधारका लागि महासचिव पोखरेलको आत्मालोचना र ६ सूत्र

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्थाप्रति खुला आत्मालोचना गर्दै आन्तरिक कमजोरीकै कारण एमालेले इतिहासकै ठूलो राजनीतिक पराजय बेहोरेको स्वीकार गरेका छन्। उनले अब पार्टीमा वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले नेतृत्वले समयमै कमजोरी सच्याउन नसक्दा कार्यकर्तामा चरम निराशा फैलिएको बताए।

‘हाम्रै कमजोरीले यो अवस्था आएको हो। कमजोरी कहाँ छन् भन्ने सूचना आएको थियो, तर समयमै समाधान गर्न सकिएन। अब वैचारिक पुनर्गठन आवश्यक छ। पार्टी जीवनमा यो सबैभन्दा ठूलो पराजय हो,’ उनले भने।

जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार

पोखरेलले एमालेले लक्षित गरेको श्रमजीवी, किसान, भूमिहीन, विद्यार्थी र उत्पीडित समुदायको विश्वास गुमाएको स्वीकार गरे। यही कारण पार्टीको सामाजिक आधार कमजोर बन्दै गएको उनको भनाइ थियो।

उनले भने, ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आएका थियौँ, उनीहरू हाम्रो साथमा रहेनन्। भूमिहीनले विश्वास गरेनन्, विदेशिएका श्रमजीवी वर्ग टाढिए, किसान आन्दोलनबाट हुर्किएको पार्टीलाई किसानले नै विश्वास गरेनन्। उत्पीडित वर्गको नेतृत्व युट्युबरले गर्न थाले।’

उनले शिक्षक, विद्यार्थी र युवासमेत एमालेबाट टाढिएको उल्लेख गर्दै अब निर्देशनको भरमा होइन, कार्यकर्ताले आफैं योजना बनाएर जनताबीच काम गर्नुपर्नेमा जोड दिए।

‘सरकारमुखी होइन, जनतामुखी बन्नुपर्छ’

महासचिव पोखरेलले एमालेको कार्यशैलीप्रति पनि कडा समीक्षा गरे। सरकारका माध्यमबाट पार्टी बलियो बनाउने प्रयासमा जनतासँगको प्रत्यक्ष सम्बन्ध कमजोर भएको स्वीकार गर्दै उनले अब त्यो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

‘हामी जनताबीच जाने होइन, जनता हामीकहाँ आउने बनायौँ। यही कार्यशैली गलत भयो। हामी सत्तामुखी भयौँ, जनतामुखी हुन सकेनौँ,’ उनले भने।

उनका अनुसार सामाजिक सञ्जालमा फैलाइएका गलत भाष्यका कारण एमाले सरकारले गरेका सकारात्मक कामसमेत जनतासम्म प्रभावकारी रूपमा पुग्न सकेनन्। स्थानीय तह निर्वाचनपछि नै शहरी मतदाता, युवा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सुकुम्बासी समुदाय पार्टीबाट टाढिएको निष्कर्ष निकालेर ‘मिशन ग्रासरुट’ अभियान सञ्चालन गरिएको भए पनि युवामुखी कार्यक्रम प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे।

कांग्रेससँग गठबन्धन नबन्नुको कारण

पोखरेलले प्रदेश सरकारमा नेकपासँग भएको गठबन्धन कांग्रेससँग सहकार्य नबन्नुको बाध्यात्मक परिणाम भएको दाबी गरे। आफूहरू कांग्रेससँग सहकार्यको पक्षमा रहे पनि कांग्रेसभित्रकै असहमतिका कारण त्यो सम्भव नभएको उनको भनाइ थियो।

सरकारबारे टिप्पणी गर्दै उनले वर्तमान सरकारको आधार ‘लोकप्रियतावाद र अराजकतावाद’ भएको आरोप लगाए र त्यसबारे जनस्तरसम्म सन्देश पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए।

एमाले सुधारका लागि पोखरेलका ६ प्रमुख सूत्र

हरेक कमिटीले आफैं निर्णय गर्ने अभ्यास विकास गर्नुपर्ने, माथिबाट निर्णय थोपर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने।

स्थानीय तहको उम्मेदवार स्थानीय कमिटीले नै छनोट गर्ने व्यवस्था लागू गर्नुपर्ने।

जनताको असन्तुष्टि पहिचान गर्दै उनीहरूसँग प्रत्यक्ष जोडिने र समाधानमा केन्द्रित हुनुपर्ने।

सूचना प्रविधि र सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा उपयोग गर्न युवा परिचालन गर्नुपर्ने।

युवाको सहभागिता बढाएर पार्टीलाई पुस्तान्तरणतर्फ लैजानुपर्ने।

जनताको विश्वास जित्ने सिर्जनात्मक अभियान सञ्चालन गर्दै पार्टीलाई जनतामुखी बनाउनु पर्ने।

यसैबीच, प्रदेश कमिटी बैठकले २१ जना सदस्य मनोनयन गरेको छ। बैठकमा अन्तरपार्टी निर्देशन, जिल्लागत प्रतिवेदन, मिशन पार्टी जागरण अभियान, सदस्यता नवीकरण, सचिवालय विस्तार, जिम्मेवारी बाँडफाँड तथा मातहत कमिटीका बैठकलगायत विषयमा छलफल भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए।

प्रकाशित: १० श्रावण २०८३ २१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App