नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले अबको पाँच वर्ष सरकार चलाउन चाहेको बताएका छन्।
मंगलबार सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई सही दिशामा अघि बढाउन स्थिर सरकारको आवश्यकता औँल्याएका हुन्।
‘हामी पाँच वर्षका लागि सरकार चलाउन चाहन्छौं, यसमा लुकाउनुपर्ने केही छैन,’ सभापति थापाले भने, ‘अबको पाँच वर्ष देश यसरी चल्नुपर्छ कि कुनै पनि सरकारले नागरिकमाथि गोली चलाउन नपरोस् र कुनै पनि दिन सिंहदरबार जल्दैन भन्ने सुनिश्चित होस्।’
उनले हरेक दिन र महिनाको हिसाब जनतालाई बुझाउने गरी पारदर्शी सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘हामी सरकार मात्र चलाउन चाहँदैनौं, हरेक दिनको हिसाब होस् भन्ने चाहन्छौं,’ उनले थपे, ‘प्रत्येक महिनाको योजना र प्रगतिको विवरण जनतासामु उभिएर दिनेछौँ।’
संविधानको रक्षा आफ्नो प्रमुख दायित्व भएको बताउँदै थापाले यसलाई कुनै पनि हालतमा तलमाथि हुन नदिने जिकिर गरे।

उनले भने, ‘यो संविधान धेरैको सहादत र बलिदानबाट प्राप्त भएको हो। यसको सुरक्षा गर्ने कसम खाएको छु। संविधानले दिएका अधिकार घटाएर होइन, थपेर र सुधार गरेर अघि बढ्नुपर्छ।’
देशलाई भड्खालोमा जानबाट रोक्न उत्तेजना नभई संयमता आवश्यक रहेको उनको भनाइ थियो। ‘अहिले देश सम्हाल्नुपर्ने बेला छ। उत्तेजना फैलाएर र चटक गरेर देश बन्दैन,’ उनले भने, ‘घृणा र आवेग पोख्नुभन्दा सबैलाई मिलाएर लैजानुपर्ने आवश्यकता छ।’
संघीयता कार्यान्वयनको समीक्षा गर्दै सभापति थापाले प्रदेश सरकारहरूको भद्दा संरचनाप्रति प्रश्न उठाए। उनले भने, ‘हामीले प्रदेशहरू त बनायौं, तर के ती ठीकठाक चलेका छन् ? के यति धेरै सरकारहरू चाहिन्छ ? अब सरकारहरूको आकार र फजुल खर्च घटाउनुपर्ने बेला आएको छ।’
नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको बताउँदै उनले यसलाई ‘महारोग’ को संज्ञा दिए। ‘माथिदेखि तलसम्म भ्रष्टाचारको जालो छ। यसको अन्त्य व्यक्तिको नियतले मात्र हुँदैन, बलियो संस्था र कानुन बनाएर माथिबाटै सुधारको थालनी गर्नुपर्छ,’ उनले भने।
सर्लाही–४ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका थापाले किसानले समयमै मल नपाउने जस्ता आधारभूत समस्या समाधानमा आफू केन्द्रित हुने बताए।
कार्यक्रम अघि उनले लहानस्थित सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका थिए।
प्रकाशित: २७ माघ २०८२ १९:४९ मंगलबार





