नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्ने भएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभरि कमल गाउँपालिका अन्तर्गतका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ। बिहान ११ बजे कमल ५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्ने छन्।
यहाँको कार्यक्रम सम्पन्न गरे लगत्तै साढे १ बजे कमल ३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ। साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ। यहाँको भेटघाट सकिए लगत्तै साढे ३ बजे कमल २ को भुत्लुङमा अध्यक्ष अोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गर्ने छन्। पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार निम्न स्थानमा भेटघाट गरी सुझाव र समस्याका विषयमा छलफल गरिने जनाइएको छ। यहाँको भेटघाट सकिए लगत्तै सोही वडाको जीवन चौकमा ४ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसरी नै सोही दिन साँझ ५ बजे कमल ५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ। भेटघाटका क्रममा स्थानीयले राखेका समस्या र सुझावका विषयलाई लिएर बाँकी विकास निर्माण कामको येजना बनाइने छ।
अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रूपमा लिएका छन्। हिजो मात्र उनले यही निर्वाचन क्षेत्र अन्तर्गतको गौरीगञ्ज गापाको ११ स्थानमा पुगेर भेटघाट सम्पन्न गरेका थिए।
प्रकाशित: १४ फाल्गुन २०८२ ०७:५१ बिहीबार





