नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश र जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्र स्थापनाका लागि बलिदान दिएका अमर शहीदहरूको स्मरण गरेका छन्।
वि सं १९९७ मा प्रजातन्त्रको आवाज उठाएको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको भन्दै ओलीले उक्त समयदेखि नेपालमा लोकतान्त्रिक आन्दोलनको बीऊ रोपिएको बताएका छन्। आजको दिन केवल क्यालेन्डरको एउटा मिति जस्तो देखिए पनि विगतको इतिहासलाई फर्केर हेर्दा वर्तमानमा उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा रहेको बताए।
उनले निरङ्कुश शासनको अन्त्य गरी लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलन कम्युनिस्ट र कांग्रेसको संयुक्त संघर्षको उपज भएको भन्दै ऐतिहासिक विरासतलाई सदैव स्मरण गर्नुपर्ने बताएका छन्।
प्रकाशित: १६ माघ २०८२ १०:४९ शुक्रबार





