१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

थोरै प्रयासले पनि परिवर्तन सम्भव छ भन्ने हामीले व्यवहारबाटै देखाएका छौं: पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले थोरै इच्छाशक्ति र इमानदार प्रयास भए मुलुकमा परिवर्तन सम्भव रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद पराजुलीले आफ्नो पार्टी सरकारमा सहभागी भएपछि छोटो समयमै जनताले महसुस गर्ने गरी काम गरेको बताएका हुन्।

उनले विगतमा कहिल्यै समयमा नपाउने विद्यालयका पाठ्यपुस्तक रास्वपाले शिक्षा मन्त्रालय सम्हालेपछि समयमै विद्यार्थीको हातमा पुगेको उदाहरण दिए।

यस्तै, इतिहासमै पहिलोपटक एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गरेर सरकारले कार्यक्षमता प्रदर्शन गरेको उनको सुनाए। उनले भने, ‘गरे के हुँदैन र रहेछ ? थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ भन्ने कुरा भाषणमा होइन, रास्वपाले व्यवहारमै उतारेर देखाएको छ।’

सम्बोधनका क्रममा सांसद पराजुलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उठाएको पुरानो र नयाँको भाष्यबारे टिप्पणी गर्दै सोचमा परिवर्तन आवश्यक रहेको बताए।

‘अग्रजहरूले गरेको त्याग र बलिदानप्रति हामी सधैं कृतज्ञ छौं,’ उनले भने, ‘तर यो पुस्ता अब व्यवस्था परिवर्तनको ब्याज मात्र खाएर बस्न सक्दैन। संसार समृद्धिमा अघि बढ्दा हामी पुरानै अवस्थामा अल्झिरहनु हुन्न।’

सांसद पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै दुईतिहाइको यो सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको जिकिर गरे।

उनले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै विगत ३७ वर्षमा कति भूमि आयोग बने र कतिले न्याय पाए भनी प्रश्न गरे।

‘हामीले त संविधानको धारा ४० र उपधारा ६ बमोजिम भूमिहीन र दलितका हक सुनिश्चित गर्न खोजेका हौं,’ पराजुलीले थपे, ‘विगतमा सुकुम्वासी बनाउनेहरूले नै आज गोहीको आँसु बगाउनु सुहाउँदैन।’

शिक्षा क्षेत्रमा दलीयकरणको अन्त्य र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य सरकारको रहेको उनले स्पष्ट पारे। विश्वविद्यालय र विद्यालयहरूलाई कार्यकर्ता उत्पादन गर्ने थलो बनाउने दिन अब सकिएको उनको चेतावनी थियो।

उनले मेरिटोक्रेसी र प्रविधिका माध्यमबाट सार्वजनिक सेवालाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने संकल्प समेत दोहोर्‍याए।

अध्यादेशका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै पराजुलीले सरकारले संविधानप्रदत्त अधिकारकै प्रयोग गरेर जनतालाई न्याय दिन अध्यादेश ल्याएको बताए।

‘अध्यादेश सरकारको अचुक हतियार हो,’ उनले भनरे, ‘विगतमा सहकारी लगायतका क्षेत्रमा भएका ठगी र बेथिति अन्त्य गरी पीडितलाई न्याय दिन यो सरकार पछि पर्दैन।’

सांसद पराजुलीले राष्ट्र निर्माणमा नयाँ पुस्ताको ज्ञान र पुरानाको अनुभवलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले रास्वपाले निर्वाचनका बेला गरेका बाचा र प्रतिवद्धता पत्रलाई सरकारले आफ्नो कार्यसूचीमा समेटेको भन्दै रचनात्मक सुझावका लागि प्रतिपक्षलाई आग्रह समेत गरे।

प्रकाशित: २९ वैशाख २०८३ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App