राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले न्यायको लडाइँ अझै नजितेकोले उत्सव मनाउने बेला नभएको बताएका छन्।
शनिबार काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
हिरासतबाट रिहा भएपछि राजधानी आएका लामिछानेले समर्थकहरूको उत्साहलाई सम्मान गरे पनि आफू अझै पूर्ण रूपमा विजयी भइनसकेको स्पष्ट पारे।
‘तपाईंहरूले देखाउनुभएको उत्साह र खुसी स्वभाविक हो तर हामी उत्सव मनाइरहेका छैनौँ,’ लामिछानेले भने, ‘किनभने न्यायको लडाइँ बाँकी नै छ, विजयी हुन बाँकी नै छ। मैले यहाँ विजयी भन्दा मेरो व्यक्तिगत विजयको कुरा गरेको होइन, देश र पुस्तामाथिको न्यायको कुराकानी गरिरहेको छु।’
सभापति लामिछानेले आफू लड्नका लागि जन्मिएको बताउँदै क्रान्ति कसैको पेवा नभएको जिकिर गरे। उनले भने, ‘म लड्नका लागि जन्मिएको मान्छे हुँ। एउटा क्रान्तिका लागि होमिएको मान्छे हुँ। क्रान्तिलाई कसैले आफ्नो पेवा बनाए, रातो बनाए, तातो बनाए तर हामीले नीलो क्रान्ति गरेका हौँ।’
आफू यही नीलो क्रान्तिको यात्रामा अगाडि बढेको र ३५ वर्षदेखिको सपना खरानी भएको अवस्थालाई नयाँ ढंगले निर्माण गर्नुपर्ने दायित्व आफ्नो काँधमा आएको उनले बताए।
लामिछानेले व्यक्तिगत रूपमा आफूले नभई सामूहिक रूपमा समाज र देशले जित्नुपर्ने धारणा राखे। ‘साथीहरूमा केही खुसी छाएको होला, केही रमायौँ होला, नाच्यौँ होला तर हामीले जितेका छैनौँ,’ उनले भने, ‘न व्यक्तिगत रूपमा मैले जितेको छु, न सामूहिक रूपमा समाज र देशले जितेको छ। हामीले जिताउनुपर्नेछ। अब नयाँ र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने हुन्छ।’
उनले इतिहासले आफूहरूलाई आवेग र उत्तेजना भन्दा माथि उठेर काम गर्ने मोडमा ल्याइपुर्याएको बताए। अपदस्थ भएकाहरूलाई गाली गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको भन्दै उनले उनीहरूलाई इतिहासको कुनामा कसरी संरक्षित र सम्मानित राख्ने भन्नेबारे सोचिरहेको व्यंग्य समेत गरे।
लामिछानेले आफू एउटा वा दुईटा चुनावका लागि नभई एउटा सिंगो पुस्ताका लागि राजनीतिमा आएको बताए। ‘मेरो एउटै सर्त छ, म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ,’ उनले भने, ‘यहाँ सिंगो पुस्ताको भविष्य खरानी भएको छ। त्यो सपना पूरा गर्न सबै मिल्न तयार हुनुपर्छ।’
उनले घाइते सुरक्षाकर्मीहरूको घाउ पुर्ने र उनीहरूलाई सुरक्षित महसुस गराउने दायित्व पनि आफूहरूको भएको बताए। लामिछानेले आफ्नो व्यक्तिगत कुनै माग नरहेको र देशको न्यायका लागि अन्तिम सास रहुन्जेल लडिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ५ पुस २०८२ १७:०३ शनिबार





