राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएको घटनाले राज्य संयन्त्रलाई विपद्का बेला अन्तिम चरणसम्म हौसला र प्रयास कायम राख्नुपर्ने सिकाइ दिएको बताएकी छन्।
सुरुङबाट जीवित उद्धार भएको खबरले सबैलाई हर्षित बनाएको भन्दै उनले सुरुङभित्र थप व्यक्तिको आवाज सुनिएको भन्दै झनै आशा जगाएको बताइन्।
धितालले प्रायःले उद्धारको आशा मारिसकेको अवस्थामा आएको जीवित उद्धारको खबर निकै आशादायी भएको भन्दै मृत्युको मुखबाट जीवित फर्किन सफल भएका साहका परिवारलाई शोकबाट बाहिर निस्कने आधार मिलेको भन्दै उनले यस्तै आशा अन्य प्रभावित परिवारले पनि पाउनुपर्ने बताइन्।
उनले आजको घटनाले राज्य संयन्त्रले विपद्का बेला अन्तिम समयसम्म उद्धारको हौसला र जमर्को कायम राख्नुपर्ने स्पष्ट सन्देश दिएको बताएकी छन्। ‘मानिसको श्वासभन्दा ठूलो आखिर के सम्पत्ति हुँदो रहेछ र,’ धितालले भनेकी छन्।
प्रकाशित: १९ भाद्र २०८३ १०:५३ शुक्रबार


-600x400.jpg)
-600x400.jpg)
-600x400.jpg)
