नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा पार्टीले धक्का खाए पनि एमाले समाप्त नभएको दाबी गरेका छन्।
सुनियोजित षड्यन्त्र, झुटो प्रचार र घेराबन्दीका कारण पार्टीलाई केही क्षति पुगे पनि एमाले अझै सुदृढ रहेको र फेरि उठेर प्रतिक्रियावादी शक्तिहरूलाई पराजित गर्ने उनले उद्घोष गरे।
‘हामीले चुनावमा धक्का खाएका छौँ, यो साँचो हो। तर, हामी समाप्त भएका छैनौँ,’ अध्यक्ष ओलीले भने, ‘हामी फेरि उठ्ने छौँ, प्रतिक्रियावादी शक्तिहरूसँग लड्ने छौँ र उनीहरूलाई पराजित गर्ने छौँ।’
उनले देश निर्माणको बाटोबाट एमाले कहिल्यै पछि नहट्ने स्पष्ट पारे। राम्रो काम गर्ने नेता र राजनीतिक दलको चरित्रहत्या गर्न अस्थिरतावादी तथा पपुलिस्ट शक्तिहरू सक्रिय रहेको ओलीले बताए।
प्रविधिको दुरुपयोग गर्दै एल्गोरिदम र मोबाइल फार्मिङ मार्फत युवा तथा बालबालिकामा आक्रोश र घृणा फैलाउने काम भइरहेको उल्लेख गर्दै उनले यसलाई देशलाई अस्थिरतातर्फ धकेल्ने गम्भीर षड्यन्त्रको भने।
पछिल्लो निर्वाचन लोकतन्त्र र जनताको हितका लागि नभई प्रतिगमनलाई संस्थागत र वैधानिक बनाउन मात्र प्रयोग गरिएको अध्यक्ष ओलीको जिकिर छ।
असंवैधानिक रूपमा संसद् बन्द गरेर ल्याइएको प्रतिगमनलाई रोक्न आफूहरूले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई आग्रह गरे पनि सफल हुन नसकेको उनले स्वीकार गरे।
यद्यपि, प्रतिगमनलाई पूर्ण रूपमा पराजित गर्न अझै पनि सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुको विकल्प नरहेको उनले औँल्याए।
राष्ट्रियताको सवालमा एमालेमाथि सुनियोजित प्रहार भएको उनले गुनासो गरे। लिपुलेक र कालापानी नेपालको हो भनेर आफ्नो नेतृत्वको सरकारले स्पष्ट अडान लिँदा एमालेमाथि निराधार र देशविरोधी आरोपहरू लगाइएको उनले स्मरण गरे।
सत्य बोल्दा र देशको भौगोलिक अखण्डताको पक्षमा उभिँदा अफवाह फैलाएर पार्टीलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ। वर्तमान सत्ता गठबन्धनले संसद्लाई बन्धक बनाएर संविधानविपरीत अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै ओलीले सरकारको आलोचना गरे।
उनले १०७ वर्ष पुरानो अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रमिक, सरकार र रोजगारदाताबीचको त्रिपक्षीय प्रतिनिधित्व तथा सामूहिक सौदाबाजीको सिद्धान्तलाई समेत वर्तमान सरकारले कुल्चिएको आरोप लगाए।
जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को प्रकाशमा पार्टी अघि बढिरहेको उनले प्रस्ट पारे। जस्तोसुकै षड्यन्त्र र दुष्प्रचारलाई चिर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने महान् उद्देश्यमा एमाले निरन्तर लागिरहने र अन्ततः सत्य र न्यायको जित सुनिश्चित रहेको ओलीले विश्वास व्यक्त गरे।
प्रकाशित: १४ असार २०८३ १६:५९ आइतबार




