काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो समय काठमाडौंमा पानी पर्न थालेपछि आफूहरू ढुक्कसँग बस्न नसक्ने अवस्था रहेको बताएकी छन्।
काठमाडौं महानगर प्रहरी बलको आइतबार आयोजित ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले विपद् व्यवस्थापन तथा बाढी, डुबानको जोखिमलाई ध्यानमा राखेर नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिलाई तयारी अवस्थामा राख्ने गरेको उनले बताइन्।
‘पहिले थोरै पानी पर्दा पनि पानी परेको आनन्द लिँदै निद्रा लाग्थ्यो। अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ,’ डंगोलले भनिन्, ‘मध्यराति नै किन नहोस्, विपद् पर्यो भने नगर प्रहरीको टोली, विपद्को टोली र हामी जनप्रतिनिधि फिल्डमा जानुपर्छ भनेर स्ट्यान्डबाइ बस्छौँ।’
उनले वर्षाको आवाजले पहिले शान्त र सुखको अनुभूति गराउने गरे पनि अहिले त्यसमा परिवर्तन आएको बताइन्। काठमाडौंमा वर्षासँगै बाढी तथा डुबानको जोखिम बढ्दै गएकाले त्यसको दीर्घकालीन समाधान खोज्न अध्ययन भइरहेको उनको भनाइ छ।
डंगोलले तत्काल गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्ने उद्देश्यले महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागेको जानकारी दिइन्।
उनका अनुसार अभियानअन्तर्गत वर्षाको पानी संकलन (रेन वाटर हार्भेस्टिङ) गर्ने तथा जमिनमा पानी पुनर्भरण (रिचार्ज) गर्ने कामलाई प्राथमिकता दिइनेछ।
‘त्यसको समाधान हामीले कसरी गर्न सक्छौँ भन्ने विषयमा अध्ययन भइरहेको छ। अहिले हामीले गर्न सक्ने जे कामबाट सुरु गर्न सकिन्छ, त्यहीँबाट सुरु गरौँ भनेर ‘रिचार्ज काठमाडौं’ क्याम्पेन सुरु गर्दैछौँ,’ उनले भनिन्।
प्रकाशित: २८ भाद्र २०८३ १३:०५ आइतबार





-600x400.jpg)