नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता वीरबहादुर बलायरले पार्टी एकताका लागि आफ्नो समूह अझै पनि लचक रहेको स्पष्ट पार्दै त्यसलाई कमजोरीका रूपमा नबुझ्न संस्थापन पक्षलाई चेतावनी दिएका छन्। उनले एकताको कुरा मात्रै गर्ने तर त्यसअनुसार व्यवहारमा कुनै ठोस सहमति नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै बलायरले आफ्नो समूहलाई निरन्तर बेवास्ता गरिए त्यसको राजनीतिक परिणाम गम्भीर हुने संकेत दिए।
‘यदि हामीलाई नजरअन्दाज गर्नुभयो भने म चुनौतीका साथ भन्छु, हामी अझै पनि लक्ष्मणरेखाभित्रै छौं। त्यो रेखा तोडेका छैनौं, अहिले त केवल झलक मात्र हो, टेलर मात्रै हो,’ उनले भने, ‘तर यदि हामीलाई बाध्य पार्ने प्रयास भयो भने समय धेरै टाढा छैन। शुभमुहूर्त सुरु भइसकेको छ। बीपीलाई सम्झने यही दिनबाट हामीले चाल चालेका छौं, अब यी पाइला रोकिने छैनन्।’
बलायरले वर्तमान राष्ट्रिय परिस्थितिमा नेपाली कांग्रेसलाई अझ सशक्त र क्रान्तिकारी भूमिकामा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार मुलुकको नेतृत्वदायी शक्ति बन्न कांग्रेसले केवल भाषण होइन, व्यवहार र कार्यसम्पादनमार्फत आफूलाई प्रमाणित गर्नुपर्छ।
‘हामी केवल भन्ने पक्षमा छैनौं, गरेर देखाउने पक्षमा छौं। हामीले विगतमा पनि काम गरेर देखाएका हौं, आगामी दिनमा पनि गरेर देखाउँछौं,’ उनले भने।
प्रकाशित: ६ श्रावण २०८३ १५:२७ बुधबार




