१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नागरिकका समस्याबारे गम्भीर अध्ययन गरिरहेका छौं: माधव नेपाल

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले आफ्नो पार्टीले आम नागरिकका समस्याहरूको विषयमा गम्भीर अध्ययन गरिरहेको बताएका छन्।

शनिबार दाङको लमहीमा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेता नेपालले नागरिकका समस्या समाधान गर्ने मूल उद्देश्यका साथ नै वामपन्थी शक्तिहरूबीच एकता भएको प्रष्ट पारे।

‘हामीले आम नागरिकका समस्याहरू अध्ययन गरिरहेका छौँ,’ सम्बोधनका क्रममा नेपालले भने, ‘हरेक नागरिकका समस्या समाधान गर्ने संकल्पका साथ हामीहरू अगाडि बढिरहेका छौँ। यो एकता केवल सत्ताका लागि नभई जनताको हितका लागि हो।’

सभामा बोल्दै नेता भीम रावलले जनतालाई धोका दिने राजनीतिक दलहरूलाई नेपाली जनताले चिनिसकेको बताउँदै यो नयाँ पार्टी जनताको अपेक्षा अनुसारको शक्ति बन्ने दाबी गरे।

त्यस्तै, नेता वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टीलाई कृषि उत्पादनमा आधारित दलका रूपमा स्थापित गरिने बताए।

‘कृषिमा आधारित दल नबनाए हामी अघि बढ्न सक्दैनौँ,’ गौतमले भने, ‘आगामी निर्वाचनमा बहुमत हासिल गरेर यसलाई देशको प्रमुख पार्टी बनाउनेछौँ।’

पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू विगतका गल्ती सच्याएर नयाँ संकल्पका साथ आएको बताए। उनले देश बनाउने नयाँ संकल्प र बृहत् एकतामार्फत पार्टी निर्माण भएको सुनाउँदै आफूहरूलाई सच्चिने मौका दिन नागरिकसँग आग्रह गरे।

प्रकाशित: १३ मंसिर २०८२ २०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App