भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आगामी ५ वर्षपछि आफ्नो पार्टीका अध्यक्ष हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउने दाबी गरेका छन्।
नागरिक न्युजको संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले आगामी आम निर्वाचनमा श्रम संस्कृति पार्टी देशको पहिलो शक्ति बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन्।
अहिले संसद्मा आफ्नो पार्टीको ७ सिट मात्र रहेकाले सरकारमा जाने कुनै हतारो वा लोभ नरहेको राईले बताएका छन्।
हाल बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले कसरी काम गर्छ भनेर आफूहरूले प्रतिपक्षमा बसेर सूक्ष्म निगरानी गरिरहेको उनले सुनाए।
‘बालेनको सरकार ५ वर्ष टिकोस् वा बीचमै फुटेर जाओस्, तर आगामी ५ वर्षपछि हुने चुनावमा हामी पहिलो पार्टी हुन्छौं र प्रधानमन्त्री हर्क साम्पाङ हुनुहुन्छ,’ राईले दाबी गरे।
आगामी १५ महिनाभित्रै हुने स्थानीय र प्रदेश चुनावमा आफ्नो पार्टीले देशैभरि उम्मेदवार उठाएर श्रेष्ठता हासिल गर्ने उनले बताए।
अहिले देशभर संगठन विस्तारको काम भइरहेको र जनताले पुराना दलहरूको विकल्प खोजिसकेकाले आफूहरूको जित निश्चित रहेको उनले बताए।
सांसद राईले पार्टी अध्यक्ष हर्क साम्पाङलाई नेपालको एक मात्र साँचो कम्युनिस्ट र श्रमदेवाको रूपमा व्याख्या गरे। कम्युनिस्टको नाममा राजनीति गर्नेहरू भ्रष्टाचार र विलासितामा डुबेको बेला साम्पाङले भने माटोमा टेकेर श्रम गरिरहेको उनले सुनाए।
‘मैले उहाँलाई उमेरले भाइ भए पनि श्रम देवा भनेर मानेको छु। जसले श्रम गर्छ, जनतालाई श्रम गर्न सिकाउँछ, उही वास्तविक राष्ट्रभक्त हो,’ राईले टिप्पणी गरे।
साम्पाङले धरानमा चलाएको श्रमदान अभियानलाई अब देशव्यापी बनाउने योजना रहेको राईले खुलाए।
हप्तामा एक दिन मात्रै सम्पूर्ण नेपालीले देशका लागि श्रमदान गर्ने हो भने विदेशीसँग ऋण माग्नै नपर्ने उनले दाबी गरेका छन्।
विदेशीको ऋण काढेर देश चलाउनु भन्दा बरु भोकै बस्नु वेश हुने उनले बताए।
एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरू संसद्बाटै खारेज गर्नुपर्ने अडानसमेत उनले राखेका छन्।
राईले पुराना पार्टीका नेताहरू भत्ता, सुविधा र शक्तिको पछाडि मात्र कुदेको टिप्पणी गरे। श्रम संस्कृति पार्टीका कोही पनि नेता तथा सांसदले राज्यबाट अनुचित सुविधा र भत्ता नलिने उनले दाबी गरे।
‘हाम्रा अध्यक्ष धरानमा ढुंगा बोक्नुहुन्छ, साधारण टिसर्ट र पाइन्टमा हिँड्नुहुन्छ। हामीलाई संसद्मा छिर्दा सुट–टाई लगाउनुपर्ने वा दौरासुरुवाल नै लगाउनुपर्ने कुनै बाध्यता छैन,’ उनले भनेका छन्।
जनप्रतिनिधिहरू शासक नभई सेवक हुनुपर्ने मान्यता राख्दै उनले आफूहरू काठमाडौंमा जग्गा किन्ने वा महल बनाउने दौडमा नरहेको स्पष्ट पारे।
देशलाई आत्मनिर्भर बनाउन र राष्ट्रियता जोगाउनका लागि अबको नेतृत्व हर्क साम्पाङ जस्तो भुइँमान्छेले नै गर्नुपर्ने राईले औंल्याएका छन्।
प्रकाशित: १८ चैत्र २०८२ २२:२४ बुधबार




