आम जनता पार्टी (आजपा) बाट रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार ऋषि धमलालाई मतदाताले उखुबारीमै घेरेर प्रश्न तेर्साएका छन्।
सोमबार गढीमाई नगरपालिका-४ स्थित उखुबारीमा चुनावी घरदैलोका क्रममा पुगेका धमलालाई स्थानीय महिला मतदाताले जितेपछि कुर्सीमा बस्ने र आफ्नै गोजी भर्नेलाई भोट किन दिने ? भन्दै र्याखर्याख्ती पारेका हुन्।
खेतमा काम गरिरहेका मतदातासँग भोट माग्न पुगेका धमलालाई एक महिलाले सुकुम्वासी समस्या र गरिबीको पीडा सुनाउँदै आक्रोश पोखेकी थिइन्।
ती मतदाताले भनिन्, ‘हाम्रो न घर छ, न जग्गा छ। सुकुम्वासी भएर, दुःख गरेर छोराछोरी पढायौँ, तर कसैले मद्दत गरेनन्। भोट माग्ने बेला सेवा गर्छु भन्छन्, लिएर गएपछि कुर्सीमा बसेर आफ्नो गोजी मात्र भर्छन्। किन भोट दिने ? हामीलाई के हेर्छन् ?’
मतदाता प्रश्नको जवाफ दिँदै धमलाले विगतका नेताहरूले काम नगरेको स्वीकार गर्दै आफू भने साँच्चिकै सेवा गर्न आएको दाबी गरे।
‘विगतका नेताहरूले राम्रो काम नगरेकाले तपाईंहरूको गुनासो हुनु स्वाभाविक हो। तर म विगतका नेताजस्तो होइन, तपाईंहरूको गुनासो सम्बोधन गर्न र काम गर्न नै आएको हुँ,’ धमलाले भने।
अन्य उम्मेदवार घर-घरमा मात्र पुगिरहँदा आफू किन खेतबारीमै पुगेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा धमलाले आफू भुइँमान्छे भएको बताए।
उनले भने, ‘म भुइँमान्छेको प्रतिनिधि हुँ। रौतहटमा गरिबी, अशिक्षा र भोकमरीको समस्या छ। यहाँका उखु किसानले समयमा मल, बिउ र सिँचाइ पाउँदैनन्। उखु बेचेपछि पनि सरकारले तोकेको मूल्य पाउनै मुस्किल छ, बिचौलियाको बिगबिगी छ।’
किसानको वास्तविक समस्या सिंहदरबार वा घरको कोठामा बसेर नभई खेतबारीमै आएर बुझिने भन्दै धमलाले आफू किसानको साथी बन्न चाहेको बताए।
उनले उखु किसानले भोग्नुपरेको भुक्तानी र बिचौलियाको समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको जिकिर समेत गरे।
प्रकाशित: ४ फाल्गुन २०८२ १७:५८ सोमबार





