१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

फागुन ३ देखि १७ सम्म देशभर मतदाता शिक्षा कार्यक्रम

निर्वाचन आयोगले देशभरका नगरपालिका तथा गाउँपालिकामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले निर्वाचनलाई लक्षित गर्दै देशभर रहेका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति तथा निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसार गर्ने उद्देश्यले यो विशेष कार्यक्रम तयार गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्दै जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु रहेको छ।

देशभरमा प्रत्येक वडामा दुई जनाका दरले जनशक्ति परिचालन गर्ने र मतदाता शिक्षा स्वयंसेवक मार्फत घरदैलो तथा विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नुको साथै आमसञ्चार माध्यम र सर्वसुलभ कार्यक्रममार्फत मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसारलाई व्यापक र प्रभावकारी बनाउने आयोगले जनाएको छ।

स्वयंसेवक नियुक्ति र योग्यताः

मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक नियुक्त गर्ने आयोगको भनाइ छ।

साथै प्रत्येक मतदाता स्वयम सेवकले कम्तीमा एसईई वा सो सरह उत्तीर्ण बाल विकास सहजकर्ता, मातृ स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट आयोगको लैङ्गिक तथा समावेशीकरण नीतिअनुसार निर्वाचन कार्यालयले स्वयंसेवक छनोट गरिने छ।

फागुन २१ को निर्वाचनको लागी जाने जाने जनशक्ति विगतमा मतदाता शिक्षा कार्यकर्ता वा निर्वाचन शिक्षा स्वयंसेवकका रूपमा अनुभव हासिल गरेका व्यक्तिलाई प्राथमिकता दिइने आयोगले जनाएको छ।

साथै निर्वाचन आयोगले स्वयंसेवकका लागि आचारसंहिता समेत तोकेको छ। स्वयंसेवकहरूले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार नगर्ने, सबै मतदातासँग निष्पक्ष व्यवहार गर्ने, भ्रामक सूचना नदिने, कुनै दल वा उम्मेदवारबाट दान वा उपहार नलिने लगायतका मापदण्ड पालना गर्नुपर्ने आयोगको भनाइ छ।

प्रकाशित: २७ माघ २०८२ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App