१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी: निर्वाचन आयोग

निर्वाचन आयोगले फागुन २१ मा हुने मतदानका लागि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको जनाएको छ। 

आयोगले जारी गरेको एक भिडियो बयानमा निर्वाचन आयुक्त डा जानकी तुलाधारले स्थानीय तहका स्वास्थ्य स्वयंसेविकामार्फत प्रदान गरिएको निर्वाचन शिक्षा प्रभावकारी बनेको बताइन्।

उनका अनुसार स्वयंसेविकाहरूले घरदैलोमै पुगेर मतदातालाई मतदान गर्ने तरिका, मत कसरी कास्ट गर्ने, मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी लगायत विषयमा जानकारी दिइरहेका छन्। नमुना मतपत्र, छापलगायत सामग्री प्रयोग गरेर व्यावहारिक अभ्यास समेत गराइँदा मतदाता शिक्षा थप प्रभावकारी बनेको बताइन्।

आयोगले प्रत्येक वडामा स्वयंसेविका खटाएर घर–घरमा नमुना मतपत्र मार्फत स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने तथा मतपेटिकामा कसरी राख्ने भन्ने विषय सिकाइरहेको जनाएको छ। यस प्रक्रियाको अनुगमनका लागि अनुगमनकर्ता समेत परिचालन गरिएको छ।

हाल देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ। स्वयंसेविकाहरूलाई फागुन ३ गतेदेखि १७ गतेसम्म १५ दिनका लागि नियुक्त गरिएको छ।

आयुक्त तुलाधारका अनुसार मतदाता शिक्षाको मुख्य उद्देश्य बदर मत न्यूनीकरण गर्नु र सही मतदान प्रक्रियाबारे जानकारी दिनु हो। साथै नागरिकलाई मतदानमा सहभागी हुन प्रेरित गर्नु पनि कार्यक्रमको अर्को लक्ष्य रहेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहने आयोगको विश्वास छ।  

प्रकाशित: १४ फाल्गुन २०८२ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App