२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सुदनलाई भोट माग्दै रविले भने- गोरखाको सपुतलाई यसपटक सदन लिएरै जानुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाबाट धेरैले चुनाव जिते पनि गोरखाले भने जित्न नसकेको बताएका छन्।

बिहीबार गोरखामा आयोजित चुवानी सम्बोधनका क्रममा पार्टीका उम्मेदवार सुदन गुरुङका पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्।

सभापति लामिछानेले २३ गतेको घटनालाई लिएर तत्कालीन सरकारको आलोचना गरे। उनले भने, ‘२३ गते गोली नचलेको भए कुनै पनि चिज जल्ने थिएन। स्कुल ड्रेसमा आएका साना बालबालिकालाई छाती र टाउकोमा ताकी–ताकी गोली नहानेको भए केही पनि जल्ने थिएन।’

लामिछानेले जलेको भौतिक संरचना फेरि बन्न सक्ने तर राज्यको दमनबाट रित्तिएको आमाको काख कहिल्यै नभरिने बताए।

लामिछानेले सुदन देशलाई माया गर्ने गोरखाको सच्चा छोरो भएको दाबी गरे। उनले आफू र आफ्ना उम्मेदवार कोही पनि प्रश्नभन्दा माथि नरहेको स्पष्ट पारे।

‘न म प्रश्नभन्दा बाहिर र माथि छु, न सुदन गुरुङ नै छन्। जसलाई जतिखेर जहाँ उभिएर प्रश्न गरे पनि हुन्छ,’ लामिछानेले भने, ‘तर त्यसभन्दा माथि देशलाई शिरमा राखेको गोरखाको सपुतलाई यसपटक सदन लिएरै जानुपर्छ।’

उनले सुदनलाई भोट दिनु भनेको एउटा व्यक्तिलाई जिताउनु मात्र नभई देश र जनतालाई जिताउनु भएको जिकिर गरे।

सभापति लामिछानेले भने, ‘गोरखाबाट धेरैले जिते तर गोरखाले जितेको छैन। यसपटक गोरखाले जित्छ, यसपटक सुदनले जित्छ।’

प्रकाशित: १४ फाल्गुन २०८२ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App