राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदाैं २३ गतेको घटनामा राज्य पक्षबाटै अत्यधिक बल प्रयोग नभएको भए आगजनीको घटना नहुने बताएका छन्।
बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले स्कुल ड्रेसमा रहेका बालबालिकामाथि गोली चलाइएको भन्दै आक्रोश पोखेका हुन्।
सरकारको दमनकै कारण परिस्थिति ब्रिगिँएको बताउँदै उनले सुनाए, ‘२३ गते गोली नचलेको भए कुनै पनि चिज जल्ने थिएन। स्कुल ड्रेसमा आएका साना बालबालिकालाई छाती र टाउकोमा ताकी-ताकी गोली नहानेको भए केही पनि जल्ने थिएन।’
लामिछानेले जलेका भौतिक संरचना पुनः निर्माण हुन सक्ने तर राज्यको गोलीबाट सन्तान गुमाएका आमाको काख कहिल्यै नभरिने बताए। ‘जुन जल्यो, जे जल्यो त्यो फेरि बन्छ,’ लामिछानेले भने, ‘तर रित्तिएको आमाको काख अब फेरि कहिल्यै भरिन्न।’
लामिछानेले आफू र आफ्ना उम्मेदवार सुदन कोही पनि प्रश्नभन्दा माथि नरहेको भन्दै उनले जहाँ उभिएर प्रश्न गरे पनि सामना गर्न तयार रहेको बताए।
‘गोरखाबाट धेरैले जिते तर गोरखाले जितेको छैन,’ लामिछानेले भने, ‘सुदनलाई भोट दिनु भनेको एउटा व्यक्तिलाई जिताउनु मात्र होइन, देशका जनता र गोरखालाई जिताउनु हो। देशलाई शिरमा राखेको गोरखाको सपुतलाई यसपटक सदन लिएरै जानुपर्छ।’
उनले अफवाह फैलाउनेहरुका पछि नलाग्न आग्रह गर्दै सुदन गुरुङ देशलाई माया गर्ने सच्चा गोरखाली भएको ग्यारेन्टी आफूले लिने बताए।
प्रकाशित: १४ फाल्गुन २०८२ १५:१२ बिहीबार





