उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको अध्याँरो हटाउन र विकासको काम गर्न आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।
आगामी निर्वाचनको प्रचारप्रसारका सिलसिलामा काठमाडौंको बसन्तपुर क्षेत्रमा घरदैलो तथा हेरिटेज वाकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने र उज्यालो ल्याउने शक्ति भएको दाबी गरे। उनले भने, ‘हामी अध्याँरोलाई हटाउँछौं। यो उज्यालो ल्याउने र काम गर्ने पार्टी हो, त्यसैले सबै मतदाताले उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास छ।’
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-७, ८ र ९ का उम्मेदवारसहित बसन्तपुर दरबार स्क्वायर क्षेत्रका विभिन्न मन्दिरहरूको दर्शन गर्दै उनले देशलाई समृद्ध बनाउन भगवानसँग शक्ति मागेको बताए।
उनले भने, ‘मैले पहिले पनि दर्शन गरेको थिएँ, तर आज विशेष रूपमा सबै मन्दिरमा पुगेर शक्ति र वर मागेको छु।’
देशभर पार्टीको चुनावी माहोल कस्तो छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा घिसिङले स्थिति उत्साहजनक रहेको बताए।
उनले देशभर १२१ स्थानमा आफ्नो पार्टीले उम्मेदवारी दिएको जानकारी दिँदै भने, ‘देशैभर अभियान सुरु भइसकेको छ। धेरै ठाउँमा हामी कडा प्रतिस्पर्धामा छौं र धेरै स्थानमा जित्छौं भन्ने विश्वास लिएका छौं।’
प्रकाशित: १५ माघ २०८२ १५:११ बिहीबार





