नेपाल पत्रकार महासङ्घ, यूकेको छैटौँ अधिवेशनको नाममा दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका गरिएको छ। महासङ्घ यूकेका पूर्वअध्यक्षसमेत रहेका नेपाल प्रेस युनियन, बेलायतका अध्यक्ष विपिन निरौलाले यसबारे महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई पत्रमार्फत सोधेका छन्।
महासङ्घ यूकेको अधिवेशन गत जेठ २३ गते हुने भनिएको थियो तर, केन्द्रकै निर्देशनमा उक्त अधिवेशन स्थगित गरिएको थियो। यो जानकारी केन्द्रलाई पटकपटक गराइएको भए पनि त्यही नाममा दर्जनभन्दा बढी व्यक्तिले बेलायती दूतावासबाट भिजिट भिसा लिएको आफूले थाहा पाएको निरौलाले पत्रमा उल्लेख गरेका छन्।
'नेपाल पत्रकार महासङ्घको निर्देशनबमोजिम नेपाल पत्रकार महासङ्घ, यूके शाखाको छैटौँ अधिवेशन स्थगित भएपछि शाखाका नाममा संस्थाको विधानविपरीत भएका गतिविधि रोक्नको लागि गत मंसिर २० गते (चलानी नम्बर ८२।०८१।०८२) को पत्रबमोजिम नेपाल पत्रकार महासङ्घ, यूके शाखाको स्थगित भएको अधिवेशनको नयाँ मिति तोक्न र केन्द्रीय प्रतिनिधिसमेत पठाउनको लागि यसअघि भएका अनौपचारिक तथा औपचारिक संवादलाई समेत बेवास्ता गर्दै नेपाल पत्रकार महासङ्घ, यूके शाखाको नाममा केन्द्रीय अध्यक्ष निर्मला शर्मासमेतको विशेष उपस्थितिमा कार्यक्रम हुने भन्दै नेपालस्थित बेलायती राजदूतावासबाट दर्जनभन्दा बढी व्यक्तिहरूले अवैधानिक रूपमा भिजिट भिसा लिएको बुझिएको छ,' पत्रमा निरौलाले लेखेका छन्।
उनले उक्त प्रकरणको छानबिनको समेत माग गरेका छन्। 'नेपाल पत्रकार महासङ्घ, यूके शाखाको नाममा प्राप्त पत्रअनुसार १४औं स्थापना दिवस तथा वार्षिक साधारणसभा अगष्ट ३ तारिख २०२५ मा आयोजना गर्न लगिएको भन्ने जानकारी प्राप्त भएसँगै सो कार्यक्रममा कति जनाको कुन आधारमा भिजिट भिसा अप्लाई गरिएको हो, त्यस सम्बन्धमा तत्काल छानबिन गर्न माग गर्दछौँ,' पत्रमा थप भनिएको छ।
पत्रमार्फत सो कार्यक्रममा बेलायत जान लागेका पत्रकार तथा गैरपत्रकारहरूको नामावली सार्वजनिक गर्नसमेत माग गरिएको छ। 'सो कार्यक्रममा नेपालदेखि आउन लागेका पत्रकार तथा गैरपत्रकारहरूको नाम सार्वजनिक गर्न आग्रह गर्दछौँ,' पत्रमा भनिएको छ।
पत्र र अधिवेशनमा जाने सम्बन्धमा अध्यक्ष निर्मला शर्मासँग जानकारी लिन खोज्दा सो बारे थाहा नभएको र आज कार्यालय समयभित्र कुनै इमेल नआएको बताइन् । आइतबार सो बारे जानकारी लिने उनको भनाइ थियो । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले अध्यक्षलाई आएको पत्रबारे आफूलाई जानकारी नहुने प्रतिक्रिया दिए ।
प्रकाशित: २ श्रावण २०८२ १९:२४ शुक्रबार





