७ आश्विन २०८२ मंगलबार
image/svg+xml ७:१४ पूर्वाह्न
राजनीति

वामदेवले यसरी सम्झिए माधव र झलनाथसँगको विगत

नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तत: नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका छन्। तत्कालीन नेकपा फुटेपछि पूर्ववत् अवस्थामा फर्किएका एमाले र माओवादी केन्द्रलाई पुन: जोड्नकै लागि एकता अभियान घोषणा गरेर सक्रिय भएका गौतम सफल हुन सकेनन्। बरु उल्टै एमाले पनि सग्लो रहेन, २०७८ को भदौतिर एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरे। अहिले आएर गौतम पनि यहीँ मिसिए।

एकीकृत समाजवादी र एकता अभियानबीच एकताका लागि शुक्रबार (आज) काठमाडौंको सभा गृहमा एक समारोह आयोजना गरिएको थियो। समारोहका बीच एकता घोषणा गरियो। नेताहरू खुसी देखिए, दोस्रो तथा तेस्रो तहका नेता-कार्यकर्ताहरू पनि प्रफुल्लित नै देखिन्थे। प्रमुख नेताहरूले बोले, अरु नेता-कार्यकर्ताहरूले ताली टुटाएनन्। बोलेका नेताहरूले आजको आवश्यकता नै 'कम्युनिष्ट आन्दोलनको एकता' भएको ठोकुवा गरे।

मञ्चमा धेरैले बोलेनन्। मुख्य वक्ताका रूपमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र एकता अभियानका संयोजक वामदेव गौतमले मात्रै बोले। त्यसबाहेक कार्यक्रम सञ्चालक घनश्याम भुसाल र सभाअध्यक्ष जयन्तीदेवी राईले बोले, उनीहरू क्रमश: एकीकृत समाजवादीका महासचिव र उपाध्यक्ष हुन्।

सुरुमा बोल्नका लागि गौतमलाई दिइयो, उनले कम्युनिष्ट पार्टीका टुट, फुट र विभाजनको शृङ्खलामाथि संक्षिप्त व्याख्या गर्दै समाजवादको सन्दर्भ त उधिने नै, सँगैमा नेपाल र खनालसँगको विगत पन सम्झिए। पोडियममा उभिएर बोल्दै गरेका गौतम अलिकति भावुक, अलिकति आक्रोशित र अलिकति उत्साहित जस्ता देखिन्थे। यस मेसोमा उनले क्रमश: नेपाल र खनालसँगको विगत सम्झिए।

माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहितका नेताहरू मञ्चमा।

नेपालसँग २०३६ सालमा भेट भएको प्रसङ्ग कोट्याउँदै गौतमले भने, 'कमरेड माधव नेपाल र मेरो २०३६ सालमा चिनजान भएको हो। त्यसबेलादेखि यता कहिले धेरै राम्ररी एकताबद्ध भएर, कहिले थोरै-थोरै सन्तुष्टि असन्तुष्टि भएर कहिले बेस्सरी रिसाएर हामीले आफूलाई प्रस्तुत गरेका छौँ र यसो गरेरै अहिलेसम्म हामीले आफूलाई बचाएका पनि छौँ।'

यस्तै गौतमले खनालसँगको विगत अझ गजबसँग सम्झिए। खनाललाई आफूले कठीन राजनीतिक परिस्थितिमा साथ दिएको पनि गौतमले उल्लेख गरे। 'कमरेड झलनाथलाई मैले अत्यन्त कठीन अवस्थामा साथ दिएको छु। पार्टी स्थायी कमिटीका बहुमत सदस्यहरूले झलनाथ अध्यक्ष भएको बेला अध्यक्षबाट हटाएर अरु कसैलाई अध्यक्ष बनाउने प्रस्ताव ल्याउनुभयो। झलनाथले सम्झिनुहुन्छ कि सम्झिनुहुन्न, बल्खुको पार्टी कार्यालयमा अध्यक्षको कुर्सीमा बस्नुभएको थियो। उहाँलाई हटाउने भए, निर्णय लेख्ने भए। निर्णय लेख्नको लागि युवराज ज्ञवाली बस्नुभएको थियो। लौ लेख्नुस् भनेर भने, मैले नलेख्नुस् भनेँ। केपी ओलीले माइन्यूट खोस्नुभयो, युवराजको हातबाट र, मैले लेख्छु भनेर भन्नुभयो। मैले भनेँ नलेख्नुस्। लेख्छु भन्नुभो, उहाँको मसिनो स्वर थियो, मैले ठूलोस्वरमा त्यस्तै नलेख्नुस् भनेँ। लेख्छु भनेर भन्नुभयो, नलेख्नुस् भनेर भनेँ। मैले लेखेँ भने के गर्नुहुन्छ भने भन्नुभयो। मैले भनेँ- त्यो माइन्युट खोस्छु, तपाईंलाई ढालेर खोस्छु र त्यसलाई आगो लगाइदिन्छु, तपाईंले गरेको निर्णय त्यही आगोमा समाप्त हुन्छ भनेँ। त्यसपछि कमरेड झलनाथलाई बसेको ठाउँबाट हात समातेर तपाईं अर्को ठाउँमा जानुपर्नेछ, त्यहाँ रहनुभएका कमरेडहरूले बार बार मलाई फोन गरिरहनुभएको थियो- घनश्याम भुसालले छिटो पठाउनुस् अध्यक्षलाई भनिराख्नुभाथ्यो। अब तपाईं गइहाल्नुस्। म भइनँ भने अर्कोपटक निर्णय हुनसक्छ भनेँ,' गौतमले सम्झिए।

माधव नेपाल र झलनाथ खनाल मञ्चमा।

नेपाल र खनाल पनि खुसी व्यक्त गर्नमा मात्रै व्यस्त भएनन्, गौतमको प्रशंसा गर्न पनि पछि परेनन्। नेपालले राजतन्त्रविरुद्धको आन्दोलनमा खुट्टा नकमाउने व्यक्ति गौतम मात्रै भएको बताए। 'अनेक मोडहरूमा अनेक व्यक्तिहरूको खुट्टा कामेका थिए, म कमरेड वामदेव गौतमलाई विशेष धन्यवाद भन्छु- राजतन्त्रविरुद्धको लडाइँमा दृढताका साथ सँगसँगै हातेमालो गर्दै देशव्यापी आन्दोलनक तरङ्ग पैदा गर्ने कुनै नेता थियो भने वामदेव कमरेड हुनुहुन्थ्यो। त्यो क्रान्तिकारी जोश यो ७७ वर्षको उमेरमा देख्दा हामी पनि प्रफुल्लित भएका छौँ, जाँगर बढेर गएको छ। दीर्घायुको म शुभकामना गर्न चाहन्छु,' उनले भने।

खनालले पनि गौतमसँगको सङ्गत र विगत सम्झिँदै उनका समाजवादप्रतिका बुझाइ, अध्ययन र आन्दोलनप्रतिको योगदानलाई सबैले सम्मान गर्नुपर्ने बताए। 

यो पनि पढ्नुहोस्

आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग गर्छु : वामदेव गौतम

प्रकाशित: २ श्रावण २०८२ १७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App