२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एकता सन्देश सभा: निर्वाचनको विकल्प छैन

सरकारसँग संयम, ओलीप्रति आक्रोश

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प नभएको बताएका छन्। यसैले निर्वाचनको तयारीमा जुट्न प्रचण्डले कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

शुक्रबार धनगढीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अहिलेको जटिल परिस्थितिको समाधान नै निर्वाचन रहेको दाबी गरे। 

‘निर्वाचनको विकल्प देखेको छैन। राति बसेर देश त झण्डैझण्डै डुबिसकेको देखेर आएका हौँ,’ प्रचण्डले भने। भदौ २४ गते राति आफू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा बसेको र त्यो रात निकै भयावह रहेको उनले बताए। 

‘अहिले हामी चुनावतिर केन्द्रित हुँदै छौँ। त्यसको कुनै विकल्प नै छैन,’ उनले भने, ‘बिना दुबिधा निर्वाचनको वातावरण बनाउन अगाडी बढ्नुहोस्।’ सुरुमा निर्वाचनको पहल आफूले नै गरेको दाबी गर्दै उनले अहिले बिस्तारै अन्य दल पनि निर्वाचन उन्मुख हुन लागेको टिप्पणी गरे। 

नेपाली काग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको बताउँदै प्रचण्डले नेकपा एमाले ‘चिसै पानीले नुहाउने हो’ भनेझैँ गरेर बल्ल दल दर्तामा आएको बताए। 

No description available.

यस्तै जेनजीका माग समर्थन गर्ने पहिलो पार्टी पनि आफ्नो नै भएको उनले दाबी गरे। उनले जेनजीले उठाएका माग आफू र आफ्नो पार्टीले पहिलेदेखि नै उठाएको बताए। ‘धेरै जेनजी युवाहरू हाम्रो पार्टीमा प्रवेश गरिसकेका छन्। अझै धेरै प्रवेश गर्ने क्रममा हुनुहुन्छ,’ प्रचण्डले भने। 

नेपाली कम्युनिस्ट पार्टीले अब कम्युनिस्ट पार्टीहरू मात्र नभई गैर कम्युनिस्ट पार्टीलाई पनि मोर्चामा एकताबद्ध गर्ने प्रयास गरिरहेको प्रचण्डले बताए। 

पछिल्लो समय विषम परिस्थितिमा राष्ट्र बचाउन आफूहरू एकताको प्रक्रियामा अघि बढेको उनको भनाई थियो। ‘कम्युनिस्ट र वामपन्थी मात्र एकताबद्ध गरेर पुग्दैन, देशभक्त, लोकतन्त्रवादी  शक्ति तथा नेपाली कांग्रेससमेतलाई समेत मोर्चामा ल्याउनु छ’, प्रचण्डले भने, ‘कम्युनिस्टको मात्र कुरा गरेका छैन, गैर कम्युनिस्ट देशभक्त, लोकतन्त्रवादीसँग पनि लगातार कुरा भइरहेको र त्यो सकारात्मक दिशातिर जाँदै छ।’ 

संयोजक प्रचण्डले एमालेतिर पनि त्यत्तिकै ध्यान रहेको बताए। एमालेबाट पनि धेरै देशभक्त नेताहरू पनि आफ्नो पार्टीमा आउने क्रम जारी रहेको उनले बताए। 

केन्द्रबाट  आर्थिक खर्च नगरेरै धनगढीमा भव्य कार्यक्रम सम्पन्न गर्न सकेको भन्दै उनले स्थानीय नेताकार्यकर्ताको प्रशंसा पनि गरे। 

‘नेतामा देश बनाउने हुटहुटी चाहिन्छ’ 

सन्देश सभामा पार्टीका सह–संयोजक माधवकुमार नेपालले नेतामा देश बनाउने हुटहुटी नहुन्जेल देश नबन्ने बताए। उनले त्यो हुटहुटी आफ्नो पार्टीको नेतामा रहेको बताए।

देश र जनताले भोगेको पीडा सबैभन्दा पहिले नेता र पार्टीले महसुस गर्नुपर्ने बताउँदै नेता नेपालले राजनीतिमा दलाली करण, ठेकेदार करण, भ्रष्टीकरण प्रवृत्ति अन्त्य गर्न नेपाली कम्युनिस्ट पार्टी जन्मिएको दाबी गरे। 

No description available.

नेता नेपालले यसअघिको पार्टी एकीकरण र विभाजनबाट शिक्षा लिएर पार्टी एकीकरणलाई बलियो बनाउने बताए। 

नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश जलेका बेला खरानी घसेर जनतालाई तर्साइरहेको आरोप लगाए। आफ्नो पार्टीलाई वृद्धाश्रम भनेकामा आपत्ति जनाउँदै उनले ओलीलाई प्रचण्ड र माधवसँग दौडेर प्रतिस्पर्धा गर्न चुनौती दिए। 

सरकारविरुद्ध पनि आक्रामक सुनिँदै रावलले सरकारको काम निर्वाचन गर्ने मात्र भएको उल्लेख गर्दै दीर्घकालीन असर पार्ने काम नगर्न आग्रह गरे। लुटिएका हतियार खोजेर भयरहित वातावरणमा निर्वाचन गर्न सरकार चुकिरहेको पनि उनले बताए। 

नेपाली कम्युनिस्ट पार्टीले जेन–जी आन्दोलनपछि पार्टी एकीकरण गरेर पहिलो पटक धनगढीमा शक्ति प्रदर्शनसहित ठुलो सभा गरेको हो। 

प्रकाशित: १२ मंसिर २०८२ २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App