१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

विविधतामा एकता नै हाम्रो शान हो : शेखर कोइराला

फाइल तस्बिर

नेपाली का‌ंग्रेसका नेता डा. शेखर कोइरालाले सबै एकजुट भएर सामाजिक सद्भावको यो कडीलाई अझ बलियो बनाउन आग्रह गरेका छन‍्।

विविधतामा एकता नै नेपालीको शान भएको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्। उनले हालै तराई-मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमहरूले सबैलाई चिन्तित बनाएको बताए। 'हामीले बिर्सनु हुँदैन, नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। यो अनुपम एकता नै हाम्रो असली शक्ति हो,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

कोइरालाले आवेग वा उत्तेजनाले समाजलाई फाइदा नपुर्‍याउने बताए। वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद नै सबैभन्दा ठूलो औषधि भएको उनको भनाइ छ। राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेल्न आग्रह समेत गरेका छन्।

'सामाजिक सञ्जाल र सञ्चार माध्यममा घृणा फैलाउने कुराहरूलाई निरुत्साहित गरौं र समाजलाई जोड्ने सकारात्मक सन्देशहरू मात्र सेयर गरौं,' उनले भनेका छन्, 'मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते सुरक्षाकर्मी र आन्दाेलनकारीकाे शीघ्र स्वास्थ्य लाभको कामना र उनीहरूको उपचारमा राज्यले कुनै कसुर बाँकी नराखोस्।'

प्रकाशित: १५ श्रावण २०८३ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App