नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेनजी आन्दोलनका मागहरूलाई समर्थन गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा कमी कमजोरी हुँदा बेरोजगारी, युवा पलायन, आक्रोश र निराशा जस्ता समस्या बढेको यथार्थ स्वीकार गरिएको छ। 'केही सीमित नेतृत्वको कुशासन र अहमताका कारण लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिन हामी सचेत रहनुपर्छ,' अध्यक्ष नेपालले भनेका छन्।
उनका अनुसार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रममार्फत मात्र आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव छ। भष्टाचारविरुद्ध सशक्त आयोग गठन, युवालाई रोजगारी, सुशासन कायम, शिक्षा–स्वास्थ्य सुधार लगायतका पार्टीका माग जेनजी आन्दोलनले उठाएका मुद्दासँग मिल्दोजुल्दो रहेको उनले स्मरण गराए।
नेपालले आन्दोलनका क्रममा भएको चरम दमनको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई घर–घर पुगेर जनतासँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।
तर उनले आन्दोलनमा घुसपैठ गरेर सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, हिंसा फैलाउने जस्ता कार्यलाई अस्वीकार गर्दै दोषी उपर कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
'संविधान र कानुनको रक्षार्थ खटिनु, सामाजिक सद्भाव कायम गर्नु र जनताको सेवामा अविचलित रूपमा लागिरहनु आजको अपरिहार्य आवश्यकता हो,' अध्यक्ष नेपालले भनेका छन्।

प्रकाशित: २६ भाद्र २०८२ १६:३० बिहीबार





