२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेमा एकैदिन प्रतिनिधि छनोट, एकलौटी हुने आशंका

नेकपा एमालेले ११औं महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेपछि त्यसमा एकलौटी हुने आशंक गरिएको छ। सचिवालय बैठकले मंसिर १५ गते देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेपछि संस्थापन इतर नेताहरुले यस्तो आशंका गरेका हुन्।

भक्तपुरको गुण्डुमा शनिबार बसेको बैठकले एकैदिन प्रतिनिधि चयनको निर्णय गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिए। उनका अनुसार १२ सय पार्टी सदस्य बराबर खुला दुई, महिला एक र ४० वर्षमुनिका युवा एक गरी चार जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा प्रतिनिधि हुने गरी आरक्षण छुट्याइएको छ। महाधिवेशनका लागि करिब २१ सय प्रतिनिधि चयन हुनेछन्।

असोज २९ देखि ३१ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन गण्डकी प्रदेशको पोखरामा मंसिर २७ देखि २९ मंसिरमा आयोजना गर्ने निर्णय गरेको थियो तर अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले स्थानहद तोकेपछि सचिवालय बैठकले सोही मितिमा काठमाडौंमा महाधिवेशन गर्ने र एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्नेगरी कार्यतालिका बनाएको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण विवाद नटुंगिँदै प्रतिनिधि छनोट कार्यतालिका पास गरिएपछि ओली इतरपक्ष सशंकित बनेको छ। भण्डारीको सदस्यता नवीकरण नगरी महाधिवेशन भएमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा उठ्ने बताइसकेका छन्। एमालेका आधाजसो नेता–कार्यकर्ताले नेतृत्व पुनर्गठनको माग अघि सारेका छन्  तर केन्द्रीय कमिटी बैठकमा पनि यो कुरा उठेपछि महाधिवेशनबाटै टुंगो लगाउने भन्दै महाधिवेशनमा जाने निर्णय भएको हो।

नेकपा एसका नेताहरु पनि एमालेमा फर्किन खोजिरहेको र भण्डारीको सदस्यता नवीकरण विवाद साम्य नभएको अवस्थामा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णयले संस्थापन पक्षले एकलौटी गर्न सक्ने भन्दै इतर समूह सशंकित बनेको छ।

‘समय छोटो छ, पार्टी सदस्य संख्यालाई आधार मानेर संविधान र कानुन तथा पार्टी विधान र नियमावलीलाई मध्यनजर गर्दै भूगोल, जनसंगठन, प्रवास र सम्पर्क समन्वय कमिटीबाट समावेशी प्रतिनिधि छनोट गर्नेगरी मापदण्ड बनाइएको छ,’ एमालेका एक पदाधिकारीले भने। अहिले एमालेका संगठित सदस्य ६ लाख ६७ हजार छन्। ती सदस्यमध्ये भूगोल, महिला, जनजाति र दलितलाई अनिवार्य क्लष्टर बनाएर प्रतिनिधि छनोट गरिनेछ। १०औं महाधिवेशनका लागि आठ लाख ५० हजार संगठित सदस्यबाट प्रतिनिधि छनोट भएका थिए। महाधिवेशनको लोगो र नाराका विषयमा केन्द्रीय कार्यालयसँगको समन्वयमा प्रचार विभागले आन्तरिक गृहकार्य गरिरहेको छ।

जेनजी आन्दोलनपछिको परिस्थिति र सन्निकट महाधिवेशनलाई लक्षित गर्दै प्रदेशस्तरीय कार्यकर्ता भेला र जिल्ला कमिटीका बैठकहरु पनि धमाधम चलिरहेको जानकारी प्रचार विभाग प्रमुख गौतमले दिए। कतिपय जिल्लाले स्वतः स्फूर्त रुपमा शान्ति, सदभाव र लोकतन्त्रको पक्षमा भेलासँगसँगै जुलुस र सभासमेत गरिरहेका छन्।

प्रकाशित: १६ कार्तिक २०८२ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App