नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन-जी आन्दोलनअघि सरकारले जनतामा व्याप्त आक्रोशलाई बुझ्न नसकेको र सोसल मिडियामाथि प्रतिबन्ध लगाउने निर्णय ‘खडबारीमा सलाई कोरे सरह’ भुल भएको स्वीकार गरेका छन्।
नागरिक न्युजको डिजिटल संवादमा बोल्दै उनले आन्दोलनको सम्भाव्यता बारे ५-६ महिना अघिदेखि नै सूचना हुँदाहुँदै पनि सरकार र सुरक्षा निकाय तयारीमा चुकेको खुलासा गरेका हुन्।
भट्टराईका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बुधबारको केन्द्रीय कमिटी बैठकमा देशमा कुनै विप्लव खालको स्थिति आउन सक्नेबारे राष्ट्रिय अनुसन्धान विभाग, प्रहरी र सेनाबाट ५-६ महिना अघिदेखि नै संकेत आइरहेको जानकारी गराएका थिए।
‘केही न केही होला भन्ने थियो, तर यो तहको भोल्युममा निस्केला भन्ने अनुमान थिएन,’ भट्टराईले भने, ‘अनुमान नोभेम्बरतिरको थियो, तर घटना सेप्टेम्बरमै भयो।’
सचिव भट्टराईले सरकारको सबैभन्दा ठूलो गल्ती सोसल मिडियामाथि एकैपटक प्रतिबन्ध लगाउनु रहेको बताए। ‘त्यो हाम्रो एउटा मिस्टेक भयो। सोसल मिडिया हामीले बन्द गर्यौँ,’ उनले भने, ‘त्यो सोसल मिडिया बन्द हुने कुरा चाहिँ त्यो एकदमै खडबारीमा एउटा सलाई फाल्दियो भने डढेलो लागेजस्तो प्रकरण भयो।’
उनले आफूले तत्कालीन सञ्चारमन्त्रीलाई हतारमा निर्णय नगर्न र पहिले संसदबाट कानुन बनाएर मात्र नियमन गर्न सुझाव दिएको तर त्यसको सुनुवाइ नभएको पनि बताए। ‘फेसबुक, मेसेन्जर, एक्स जस्ता २६ वटा सोसल मिडिया बन्द हुँदा तपाईं हाम्रो जीवन नै गडबड भयो, त्यसले ठूलो प्रभाव पार्यो,’ उनले थपे।
भट्टराईले आन्दोलनको दिन सुरक्षा व्यवस्थापनमा पनि गम्भीर कमजोरी देखिएको औंल्याए। उनका अनुसार शिक्षक वा कर्मचारीको आन्दोलनमा १०-१० वटा ब्यारिकेड राखिने तर युवाहरूको सडक प्रदर्शनमा एउटा पनि ब्यारिकेड नहुनु र प्रहरीको संख्या पनि न्यून हुनुले सुरक्षा निकायले स्थितिलाई कम आँकेको प्रष्ट हुन्छ।
उनले राजनीतिक नेतृत्व र सुरक्षा अंगबीच समन्वय अभाव रहेको पनि संकेत गरे। ‘त्यति संवेदनशील घटना भएको दिन गृहमन्त्री संसदीय समितिको बैठकमा हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले सुरक्षासँगै बसेर कमान्ड सम्हाल्नुपर्ने ठाउँमा बस्नुपर्थ्यो।’
भट्टराईले विगतका आन्दोलनहरूमा मध्यम वर्ग र बुद्धिजीवीको सहभागिता हुने गरेको तर यसपटकको आन्दोलनमा निम्न-मध्यम र गरिब वर्ग (ढुंगा बोक्ने, इँटाभट्टामा काम गर्ने, मकै पोलेर गुजारा गर्ने) को ठूलो सहभागिताले पार्टी र आम नागरिकबीचको दूरी बढेको यथार्थलाई उजागर गरेको बताए।
‘आम मानिससँग हामी अलिकति अलग-थलग भएको रहेछौं भन्ने बुझियो,’ उनले भने, ‘हाम्रो निर्णय एकातिर, मान्छे अर्कातिर भयो। हामीले ल्याएको लोकतन्त्रले आम नागरिकलाई किन समेटिरहेको छैन भनेर अब हामीले गम्भीर भएर एनालाइसिस गर्नुपर्छ।’
प्रकाशित: २९ आश्विन २०८२ १९:४८ बुधबार




-600x400.jpg)
